सौराहा,२६ असार । पर्यटकीयस्थल सौराहाको मुख्य बजार क्षेत्र र जंगलछेउमा नालीसहितको कालोपत्रे गर्ने काम भइरहेको छ । यहाँ सघन सहरी तथा भवन निर्माण आयोजना र रत्ननगर नगरपालिकाले छुट्टाछुट्टै काम गरिरहेका छन् । सघन सहरीले राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र अगाडिपट्टि जंगलछेउको बाटोमा नाली र साइकल लेनसहित कालोपत्रे गर्दैछ ।
नगरपालिकाले राप्ती नदीको छेउबाट बजार क्षेत्रको बाटोमा नाली बनाउँदै छ । बाटो कालोपत्रे गर्न भने नगरप्रमुख प्रलाद सापकोटाले प्रदेश सरकारलाई गुहारेका छन् । राप्तीनजिकको मध्यवर्ती क्षेत्रमा नाली बन्दै गर्दा चितवन राष्ट्रिय निकुञ्जले चासो देखाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले केही दिनअघि फेसबुकमा लेख्दै प्रशोधनबिना राप्तीमा ढल मिसाउन नदिने चेतावनी दिएका थिए ।
ढलको अन्तिम निकास कहाँ हुने भनेर यकिनसमेत नभएको उनले बताएका छन् । राप्तीमा ढललगायतका फोहोर मिसाउने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३० बमोजिमको कसुर हुने भन्दै उनले कसैले ढल मिसाएमा कानुनबमोजिम कारबाही गर्न निकुञ्ज बाध्य हुने बताए ।
ठेकेदार कम्पनीले नालीको डिजाइन पनि नदेखाएको पौडेलले बताए । ‘घरको ढल मिसाउने हो वा होइन यकिन विवरण उपलब्ध गराइदिन भनेर निर्माण व्यवसायीलाई पत्र लेखेका थियौँ, त्यसको जवाफ आएको छैन’, उनले भने, ‘उहाँहरुले डिजाइन इस्टिमेट पनि देखाउनुभएको छैन । हाम्रो भनाइचाहिँ ढल कुनै पनि हालतमा मिसाउन हुँदै हुँदैन भन्ने हो ।’
प्रशोधनबिना नै राप्तीमा ढल मिसाउन लागेको देखेमा निकुञ्जले रोक्ने उनले बताए । नाली बनाउँदा निकुञ्जसँग छलफल नगरिएको र अनुमति पनि नलिइएको उनले जानकारी दिए । ढल मिसाइँदैन भनेर मौखिक भनेरमात्रै नहुने भन्दै उनले डिजाइन इस्टिमेट देखाएमात्रै स्पष्ट हुन सकिने बताए ।
सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपट थापाले राप्तीमै निकास हुने गरी नाली निर्माण भइरहेको बताए । उनका अनुसार ढलको प्रशोधन भने गरिने छैन । ‘नालीमा ट्वाइलेटको पानी जोडिँदैन । घर, होटलबाट निस्किने फोहोर पानी जोडिन्छ’, उनले भने, ‘त्यसको निकासचाहिँ बीचको खोल्सा हुँदै राप्तीमै हुने हो ।’ अहिले नालीका लागि ह्युम पाइप राख्ने काम भइरहेको छ ।
उनले निकुञ्जसँग सहमति लिएर नै सडकको काम गरिएको बताए । ‘हामीले प्रशोधन गर्दैनौँ, ग¥यो भने वडा र नगरपालिकाले गर्ला । राप्तीमा ढल पठाउनै नपाउने भन्ने हुँदैन, त्यसको मिनिमम ट्रिटमेन्ट नगरपालिकाले गर्ला’, उनले भने ।
नगरपालिकाले ढलको निकास कल्भर्टमा गर्दैछ । कल्भर्टमा खसेको ढल अन्ततः राप्तीमै मिसिन्छ । रत्ननगर नगरपालिकाको पूर्वाधार शाखाका इन्जिनियर नमेश गुरूङले नालीमा फोहोर पानी मिसाउन नदिइने दाबी गरे । नगरपालिकाले गैँडाचोकदेखि बाघमारा रोडनजिकको कल्भर्टसम्म दुई खण्डमा गरी नाली बनाउने काम गरिरहेको छ । नालीमा केहीले फोहोर पानी मिसाउन खोजेपछि हटाइएको उनले बताए ।
‘नालीमा होटल र घरबाट निस्किने ढल हाल्न पाइँदैन, आकाशको पानीमात्रै निकास गर्ने हो’, उनी भन्छन्, ‘छत र ट्रसमा खसेको तथा सडकमा परेको आकाशको पानीमात्रै नालीमा हाल्न दिइन्छ । एउटा घरले किचनको पानी मिसाउन लागेपछि हामीले थाहा पाएर पुर्न लगाएको हो ।’ नगरपालिकाले बजार क्षेत्रमा तीन खण्डमा छुट्टाछुट्टै ठेकेदारमार्फत नाली बनाइरहेको छ ।
अबको तीन महिनामा नाली निर्माणको काम सकिने उनले बताए । गैँडाचोकदेखि हात्तीचोकसम्मको खण्डमा स्थानीयको विरोधका कारण केही ढिला भएको उनको भनाइ छ । ‘त्यहाँ पिच हुनेवाला छ, पिच भइसकेपछि ठिक्क मिल्ने गरी नाली बनाइएको हो’, उनले भने, ‘पिच गर्न तीन करोड ५२ लाख लाग्ने इस्टिमेट छ, त्यसका लागि मेयरसापले पहल गरिरहनुभएको छ ।’ नालीको काम नगरपालिका आफैँले गरेको हो । (चितवन पोष्टमा खबर छ)