भरतपुर अस्पतालमा स्वास्थ्य मन्त्री जोशीको छड्के, काउन्टरमा नबस्ने कर्मचारीलाई स्पष्टिकरण सोध्न निर्देशन

चितवन, २८ असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ । अस्पतालभित्रको फार्मेसीमा औषधि किन्न सास्ती हुने गरेको गुनासो आएपछि मन्त्री जोशीले आकस्मिक अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा औषधि लिने सेवाग्राहीहरुको लामो साइन रहेको र फार्मेसीको काउन्टर खाली रहेको पाईएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । मन्त्री जोशीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेललाई बोलाई आफ्नो डियूटी समयमा काममा नआउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न निर्देशन दिनुभयो ।

सो अवसरमा मन्त्री जोशीले फार्मेसीमा बीमा मार्फत् २४ सैं घण्टा औषधि किन्न मिल्ने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो । मन्त्री जोशीले अस्पतालका विभिन्न वार्डमा सेवा लिईरहेका बिरामी र आफन्तलाई भेट गरी अस्पतालबाट प्राप्त सेवा सुविधाकाबारेमा जानकारी लिनु भएको थियो ।