इच्छाशक्तिले बदलिएको सामुदायिक स्कुल : जहाँ लेसन प्लान बुझाएपछि बल्ल हुन्छ

भरतपुर, २९ असार । तीव्र इच्छाशक्ति भए एउटा सामुदायिक विद्यालयले सजिलै काँचुली फेर्न सक्दो रहेछ भन्ने उदाहरण भरतपुर माध्यमिक विद्यालय बनेको छ । पछिल्लो समय यस विद्यालयको पूरा टिम (कार्यालय सहायकदेखि प्रिन्सिपलसम्म) नै शैक्षिक तथा भौतिक गुणस्तर वृद्धिमा लागेको देख्दा विद्यालयमा सबल नेतृत्वले इच्छाशक्ति देखाउन पर्ने रहेछ भन्ने प्रमाणित भएको छ ।

एक समय थियो, भरतपुर माविमा विद्यालय व्यवस्थापन समिति गठनमा ठूलै राजनीति चल्थ्यो । लामो समयसम्म समिति बन्थेन । समितिको लडाभाँती देखेर प्रिन्सिपल, शिक्षक, कर्मचारीमा कुनै उत्साह जाग्थेन । अभिभावकहरु विद्यालयप्रति गुनासैगुनासो सुनाउथेँ ।

विद्यार्थीहरुको झोला खानतलासी गर्दा लागू पदार्थसमेत फेला पर्थे । जुनसुकै बेला विद्यार्थीहरु स्कुल ‘बंक’ गर्थे । विद्यालयबाहिर विद्यार्थीबीच झैझगडा भइरहन्थ्यो । मध्यान्तरको समयमा विद्यार्थीहरु स्कुलबाहिर निस्केर बजार घुम्थे । कुनै समय यस्तो लथालिङ्ग अवस्थामा रहेको भरतपुर–१० को भरतपुर माविले पछिल्लो तीन महिनामै आफ्नो रुपरेखा बदलेको छ । जब चैत ७ गतेपछि विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व आयो तब स्कुलमा परिवर्तनका रेखाहरु कोरिन थाले ।

भरतपुर माविबाट नै कखरा चिनेका केशवप्रसाद रेग्मी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । रेग्मी अध्यक्ष बनेको तीन महिनामै विद्यालयमा थुप्रै परिवर्तनहरु देखिएका छन् । भरतपुर मावि भनेपछि नाक खुम्च्याउने अभिभावकहरु अहिले स्कुल बनाउन लागेका छन् । स्कुल बंक गर्ने विद्यार्थीहरु अहिले कक्षा मोनिटर भएर प्रत्येक विद्यार्थीको हाजिरी उतार्ने गरेका छन् ।

‘विद्यालयको कायाकल्प गर्ने भिजन दिने सबल नेतृत्व चाहिने रहेछ’, अभिभावक लक्ष्मी थापाले भनिन्, ‘नयाँ समिति बनेपछि विद्यालयमा परिवर्तनहरु देखिएका छन् । पहिला गेटमा कोही हुन्थेन, विद्यार्थीहरु जुनसुकै समयमा बाहिर निस्कन्थे, बंक गर्थे तर अहिले गेटमा सुरक्षागार्ड छन् । प्रिन्सिपलको स्वीकृतिको पत्रबेगर कोही विद्यार्थी विद्यालयबाहिर जान पाउँदैनन् ।’ अर्का अभिभावक रामप्रसाद लामिछानेका अनुसार हरेक दिन विद्यार्थीको कक्षाकोठामा अनुगमन हुन्छ, कक्षा टेष्टहरु भइरहन्छ, शिक्षक बिदामा बसेको बेला कक्षा मोनिटरले कक्षामा पठनपाठन गराउँछन् । प्रत्येक विद्यार्थीको रेकर्ड कक्षा मोनिटरले गर्छन् ।

‘नयाँ कमिटी आएपछि विद्यालयमा परिवर्तनहरु भएका छन्, शिक्षकले प्रत्येक दिनको प्रत्येक कक्षाको लेसन प्लान बुझाएपछि बल्ल हाजिर गर्न पाउँछन्’, लामिछानेले भने । अभिभावकका अनुसार कक्षाकोठामा सिसी क्यामरा जडान भएका छन् । विद्यालयले वार्षिक कार्ययोजना तयार पारेको छ भने कक्षा शिक्षकहरुले गुणस्तरको प्रतिबद्धतासहितको योजना प्रिन्सिपललाई बुझाएका छन् । अभिभावक कमला गुरूङले कक्षास्तरीय अभिभावक भेला विद्यालयमा हुन थालेको बताइन् । उनले भनिन्, ‘महिनाको एकपटक प्रत्येक कक्षाको अभिभावकलाई बोलाएर अध्यक्ष र प्रिन्सिपलले गुनासो सुन्ने गर्नुभएको छ, अभिभावकको सुझावलाई ग्रहण गर्नुभएको छ ।’

साप्ताहिकरुपमा विद्यार्थीको कक्षास्तरीय परीक्षाहरु पनि विद्यालयले लिन सुरू गरेको छ । विद्यालय व्यवस्थापनको नयाँ समिति बन्नासाथ पदाधिकारीहरु अभिभावकको घर–घरमा पुगे । जसको फलस्वरुप यसपटकको शैक्षिक सत्रमा विद्यालयले परीक्षा लिएर मात्र विद्यार्थीको भर्ना लियो । ‘यस शैक्षिक सत्रमा १३० नयाँ विद्यार्थी थपिएका छन्’, विद्यालयका प्रिन्सिपल खेमनारायण पौडेलले भने, ‘विद्यार्थीको चाप अत्यधिक भएपछि प्रवेश परीक्षा लिएर मात्र भर्ना लियौँ । अब भरतपुर मावि पढाउने कुनै अभिभावकले नाक खुम्च्याउनुपर्ने अवस्था आउन हामी दिने छैनौँ । विगतको कमजोरीलाई सकार्दै कमिटीमा आउनुभएका नयाँ नेतृत्वसँगै हातेमालो गर्दै अघि बढिरहेका छौँ ।’

यतिबेला भरतपुर माविमा ६५० बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा मास्टर्स गरेका मात्र ११ जना शिक्षक छन् । अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुन्छ । माथिल्लो कक्षाहरुमा दुईवटा सेक्सन बनाइएको छ । विद्यालयमा सिटिइभिटीअन्तर्गतको सिभिल इन्जिनियरिङ र भेटेरिनरीको ३ वर्षको डिप्लोमा कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । कक्षा ११ र १२ मा म्यानेजमेन्ट र शिक्षा सङ्कायका कक्षाहरु पनि भरतपुर माविमा चलिरहेको छ ।

यसै शैक्षिक सत्रदेखि विद्यालयमा अत्याधुनिक फिसिक्स ल्याब, केमेस्ट्री ल्याब, बायोलोजी ल्याब र भेटेरिनरी ल्याबहरु सञ्चालनमा आएका छन् । नेपाल टेलिकमले उपलब्ध गराएको आइसिटी ल्याब नै भरतपुर माविमा चलिरहेको छ । ‘भरतपुर माविमा विद्यार्थीहरुले पशुपालन गरेका छन्, यसपटक ३९ हजारको कुखुरा बेचेर विद्यार्थीले आम्दानी गरेका थिए’, प्रिन्सिपल पौडेलले भने, ‘गाई फार्म पनि छ, चारवटा गाई अहिले फार्ममा छन्, खसीबोका पनि थियो, विद्यार्थीले बेचे ।’

‘यसअघि पनि प्रअ म नै थिएँ, तर व्यवस्थापन समितिको लगाव नहुँदा उत्साह धेरै थिएन । व्यवस्थापन समितिको भिजनसँग शिक्षक, कर्मचारीको मिसन मिल्यो जसले गर्दा विद्यालयमा परिवर्तनहरु हुन थालेका हुन्’, प्रअ पौडेलले भने, ‘व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद रेग्मीको लगावले विद्यालय पूरै टिम तातेको छ, उहाँ हरेक दिन विद्यालयमा आएर अनुगमन गर्नुहुन्छ । कक्षामा गएर विद्यार्थीलाई मोटिभेट गर्नुहुन्छ, कोही विद्यार्थी विद्यालय आएन भने उसको कोठा वा घरमै पुग्नुहुन्छ ।’

प्रिन्सिपल पौडेलका अनुसार हिजो शिक्षकहरु लडाइँ हारेका सिपाहीजस्ता थिए, आज जितेका सिपाहीजस्ता भएका छन् । अर्को वर्षबाट बल्ल भरतपुर माविको रिजल्ट आकर्षक आउने पक्का छ, किनभने यो अहिले गरिरहेको मेहनत हिजो कम थियो ।

विद्यालयका गणित शिक्षक दीपेन्द्र लम्सालले विद्यालयमा धेरै परिवर्तनहरु भएको बताए । उनले भने, ‘यस विद्यालयमा ज्यादै निम्नस्तरका अभिभावकहरुका बालबच्चाहरु पढ्न आउँछन्, भाडाको कोठामा बसेर ज्याला मजदुरी गर्ने अभिभावकका बच्चा धेरै छन् । तराई मूलका अभिभावकका बच्चा पनि प्रशस्त छन्, निकै कमजोर बच्चाहरु लिएर उच्चस्तरको गुणस्तर निकाल्न लागिरहेका छौँ । पछिल्लो समय यसमा सफलता मिल्दै आइरहेको छ ।’

विद्यालयको एकाउन्ट सिस्टम अहिले चुस्त छ । शिक्षक, कर्मचारीको विद्युतीय हाजिरी छ । अभिभावकले गुनासो राख्ने गुनासो पेटिका भित्तामा राखिएको छ । खानेपानीको राम्रो प्रबन्ध छ । विद्यार्थीले आफैँ कक्षाकोठादेखि विद्यालयको चौरसम्म सफा गर्ने टिम बनाएका छन् । विद्यालयको इको क्लबले हरियाली प्रवद्र्धनको कार्यक्रम गरिरहेको छ । प्ले ग्रुप र नर्सरी कक्षाकोठालाई व्यवस्थित बनाउँदै नमुना मन्टेश्वरीका रुपमा सञ्चालन गर्ने योजना विद्यालयले बनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद रेग्मी प्रिन्सिपलदेखि शिक्षक, कर्मचारीसम्मलाई उत्प्रेरणा जगाउने काममात्रै गरेको बताउँछन् । उनी भन्छन्, ‘अध्यक्षको न तलब हुन्छ न कुनै भत्ता नै, केवल शिक्षक÷कर्मचारीको परिचालन, निगरानी र अनुगमन मात्र अध्यक्षको नाताले गरिरहेको छु । बिहानदेखि साँझसम्म विद्यालय सुधारमा लागेको छु । शिक्षकको अध्यापन कक्षामै बसेर हेर्छु, अभिभावकको घर वा कोठामा पुग्छु । सानो प्रयास गर्दैमा विद्यालयमा परिवर्तनहरु देखिएका छन् ।’

उनले सबैको साथ र सहयोग पाए भरतपुर माविलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन सक्ने बताए । उनले भने, ‘शिक्षक, अभिभावक र व्यवस्थापन समितिको सबैको साथ पाए अर्को वर्ष नै विद्यालयलाई जिल्लाको उत्कृष्ट दसभित्र पार्छु भन्ने लागेको छ ।’

भरतपुर माविमा संस्थागत विद्यालयका विद्यार्थी आउने वातावरण अझै नबनेको भन्दै प्रयासचाहिँ भइरहेको उनी बताउँछन् । उनका अनुसार अन्य स्कुलमा नाम ननिस्केर हैरानी पाएका अभिभावकहरु बिन्ती गर्दै भरतपुर मावि आइरहेका छन्, कतै पढ्न पाएनौँ भन्दै आएपछि के गर्ने १ त्यस्ता विद्यार्थीलाई भर्ना लिएर बनाउन ठूलो मेहनत गर्नु परेको छ । ‘असफल हुने छूट सायद सिङ्गो भरतपुर माविको टिमलाई नै छैन’, अध्यक्ष रेग्मीले भने, ‘धैरै चुनौतीहरु छन्, हाम्रो स्कुल परिवार चुनौती पार गर्न लागिरहेको छ ।’ आजकाे चितवन पाेष्टमा खबर छ ।