नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु

चितवन, २९ असार। नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषद्बाट गर्नुपर्ने हुन्छ।

नारायणगढ–मुग्लिन सडकभन्दा त्रिशूलीपारिबाट गैँडाकोट–मुग्लिन सडक बनाउन सकिने विज्ञहरुले बताएका छन् । अहिले त्यही विकल्पमा प्रारम्भिक अध्ययनको बाटो खोलिएको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले वर्षैपिच्छे सडकमा पहिरो झरेर दुःख दिन थालेकाले यसको विकल्प सडक खोज्न लागिएको बताए ।

“हामीले गैँडाकोटदेखि देवघाट–दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “सडक डिभिजन कार्यालयबाट आएको पत्रलाई हामीले छलफलको सूचीमा राखेका छौँ।”

सडक डिभिजन कार्यालयले गरेको प्रस्तावलाई सम्बन्धित विज्ञसँगको छलफलपछि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव गर्न भौतिक योजना मन्त्रालयमा पठाइने पनि उनले बताए । “गैँडाकोट–मुग्लिन सडकको अब अध्ययन हुन्छ। अध्ययन प्रतिवेदनका आधारमा परियोजना अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय हुनेछ,” उहाँनले भने।

यसअघि सडक विभागले नै डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा डिभिजन सडक कार्यालय भरतपुरले विभागलाई वैकल्पिक सडक बनाउन सकिने गरी राजमार्ग घोषणा गराउन प्रस्ताव अघि सारेको हो । आजको गोरखापत्र दैनिकमा छ ।