चितवन, ३० असार । भरतपुरमा आज (शनिवार) हुन लागेको एक खानेपानी संस्थाको चुनावमा शिक्षकहरु उम्मेदवार बनेकाे खबर राजनीति प्रदूषित बन्दा त्यसको असर सर्वत्र देखिन्छ भन्ने प्रमाण बनेको छ । शिक्षकले आफ्नो कर्तव्य र अधिकार भन्दा बाहिर गएर काम गर्ने गरेको गुनासो जनस्तरबाट आउने गरेको छ ।
भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर खानेपानी तथा सरसफाई समितिको अधिवेशन हुँदैछ । अधिवेशनमा दुई जना शिक्षक पनि निर्वाचन लड्दै छन् । भरतपुर २१ को भानु मावि पहारिलो टारका सहायक प्रध्यानाध्यापक दामोदर बराल र मावि तोरीखेतका शिक्षक रामप्रसाद लामिछाने खानेपानीको चुनाव लड्न लागेका हुन् । उनिहरु दुवै जना स्थायी शिक्षक हुन् । दामोदर बराल लेखा संयोजक र रामप्रसाद लामिछाने लेखा सदस्यमा उम्मेदवार बनेका छन् । उनिहरु विद्यालयमा पढाउन छाडेर चुनावको प्रचारप्रसारको काममा लागेको स्थानियले आरोप लगाएका छन् ।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले शिक्षकले अनुमति विना अन्य संघ संस्था र सार्वजनिक निकायहरुमा चुनाव लड्न र काम गर्न नपाइने बताए । उनले खानेपानीका संस्थाहरु शिक्षकसंग सम्बन्धित नभएका हुँदा त्यस्ता संस्थाहरुमा काम गर्ने भए राजिनामा दिएर काम गर्नुपर्ने बताए ।
भानु माविका प्रध्यानाध्यापक चक्रपति आचार्यले सहायक प्रधानाध्यापक खानेपानीको चुनाव लड्न लागेको बारे थाहा पाएको तर स्कुल विदामा भने नबसेको बताए । उनले भने, ‘खानेपानीको चुनाव लड्न लागेको मैले जानकारी पाएको छु तर उहाँ विदामा हुनुहुन्न ।’ उनले नियमित विद्यालयमा हाजिर गरेको बताए । उनले शिक्षक दोहोरो लाभको कार्यकारी पदमा बस्न नपाइने भन्दै स्कुलका शिक्षकलाई पनि यसबारे जानकारी गराएको बताए ।
शिक्षक दामोदर बरालले स्थानीयले खानेपानीको चुनावमा उम्मेदवार हुन अनुरोध गरेकाले उम्मेदवारी दिएको बताएका छन् । उनले आर्थिक पारदर्शीताका लागि आफु उम्मेदवार बनेको बताए । ‘मलाई प्यानल, दल थाहा छैन । यसअघि पनि संघ संस्थामा बसेर काम गरेको छु । मैले खानेपानीको चुनाव लड्दा कहीँ कतैबाट अब्जेसन आएको छैन’, उनले भने । उनले आफु उम्मेदवारीबाट पछि नहट्ने बताए । उनले विदाको दिन संघ संस्थाको काम गर्ने गरेको दाबी गरे ।
यो विषयमा जिल्ला प्रशासन कार्यालयले पनि भरतपुर महानगरपालिकालाई आवश्यक निर्णय लिन अनुरोध गर्दै पत्र लेखेको छ । तर भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले यस विषयलाई वास्ता नगरेको एक स्थानीयले बताए । पार्वतीपुर खानेपानीमो १० बर्षसम्म अधिकारीको नेतृत्व रहेको थियो ।
पार्वतीपुर खानेपानीमा दुई प्यानल निर्वाचनमा होमिएका छन् । काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको एउटा प्यानल र एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को प्यानल निर्वाचनमा होमिएको छ ।