इक्यान निर्वाचनः चितवनबाट मञ्जित ढकाल केन्द्रीय सदस्यमा निर्वाचित

चितवन, ३१ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सदस्यमा चितवनबाट मञ्जित ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट ढकाल २०९ मतका साथ चौथो हुँदै निर्वाचित भएका हुन् । सदस्यमा कुल ९ जना निर्वाचित भएका छन् ।

इक्यान चितवनले ढकाललाई जिल्लाबाट आधिकारिक उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । चितवनबाट दुई उम्मेदवार सिफारिस भएको मध्ये ढकाल राम्रो मतको साथ निर्वाचित भएको इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले जानकारी दिए । उनले मतदान गरेर विजयी गराउनुहुने सबै सदस्यहरुमा इक्यान चितवनको तर्फबाट धन्यवाद दिएका छन् ।

इक्यान चितवनले सह–कोषाध्यक्ष पदमा भने हेमराज सिग्देललाई सिफारिस गरेको थियो । सिग्देल भने उपविजेता बने । उनले १८७ मत प्राप्त गरेका थिए भने सह–कोषाध्यक्षमा विजयी विकल्पराज पोखरेलले २१६ मत प्राप्त गरेका थिए ।

इक्यानको यसपटकको निर्वाचन निकै पेचिलो बनेको थियो । निवर्तमान अध्यक्ष प्रकाश पाण्डे खुलेर चुनावी अभियानमा लागेपछि इक्यानको निर्वाचनको माहोल तातेको थियो । पाण्डेले समर्थन गरेकै उम्मेदवार शेषराज भट्टराई अध्यक्षमा निर्वाचित भए । भट्टराईले २३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी दोस्रो कार्यकालका लागि निर्वाचन लडेका विष्णुहरि पाण्डेले १४६ मत मात्रै प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा चितवन घर भएका लक्ष्मण पौडेल (एन्ड्रयु)ले २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी १५३ मतसहित विजयी भएका छन्। उपाध्यक्षमा विजयी शिवाकोटी भट्टराई समूहकी हुन् भने क्षेत्री र पौडेल पाण्डे समूहका हुन्। महासचिवमा भट्टराई नेतृत्वको समूहबाट दीपकराज भुसाल विजयी भएका छन्। उनले २५५ मत प्राप्त गर्दा पाण्डे समूहका वासुदेव दाहालले १५५ मत प्राप्त गरेका छन्।

सचिवको दुबै पदमा भट्टराई समूहका विजयी भएका छन् । भावनाथ हुमागाईँ २६०, रत्न बहादुर भट्टराई १६८ मतसहित विजयी भएका हुन्। कोषाध्यक्षमा पनि भट्टराई समूहकै आशिक कार्की विजयी भएका छन्। उनले २०८ मत प्राप्त गर्दा पाण्डे समूहका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरेका छन्।