चनौली, ३१ असार । गुन्जनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैठौँ साधारण सभा शनिबार चनौलीमा सम्पन्न भएको छ । बागमति प्रदेश सभा सदस्य माया श्रेष्ठको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
खानेपानीको क्षेत्रमा यस संस्थाले उल्लेखनीय काम गरेको भन्दै काम गर्नका लागि एकरुपता आवश्यक भएको सांसद श्रेष्ठले बताउनुभयो । थप योजनाहरु अघि बढाउन प्रदेश सरकारको सहयोग रहने बताउँदै विपन्न वर्गलाई धारा जडान र मासिक शुल्कमा गर्न सक्ने छूट दिन पनि श्रेष्ठले आग्रह गर्नुभयो । प्रदेश सरकारले पश्चिम चितवनलाई विभिन्न विधामा बजेट विनियोजन गरेको जानकारी दिँदै खानेपानी योजनाको लागि रु ४० लाख, रेडक्रस चनौली शाखाको इमर्जेन्सी हलको लागि २० लाख, ओम शान्ती देखि ससपुरिया टोल जाने बाटो निर्माणको लागि २० लाख, गुन्जनगर ग्रिन पार्क निर्माणको लागि १० लाख, नया बजारमा रहेको शिवजि मुर्ति ढलानको लागि ८ लाख, धर्मोदय क्लबको लागि २० लाख र भिमनगर स्कुल सभाहल निर्माणको लागि प्रदेश सरकार बाट बजेट बिनियोजन भएको श्रेष्ठले बताउनुभयो ।
गुन्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरुङले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । करिब २२ सय घरधुरीलाई सुरक्षित पिउने पानी वितरण गर्दै आएको यो संस्थाको भरतपुर–१८ मा पाँच कट्ठामा साढे चार लाख लिटर क्षमताको ब्लक ‘ए’ ओभरहेड ट्याङ्की रहेको र भरतपुर–२० मा पाँच कट्ठामा ब्लक ‘बी’ दुई ओभरहेड ट्याङ्की बन्ने क्रममा रहेको बताउनुभयो । मानवजातीमा महत्त्वपूर्ण राख्ने पानी स्वच्छ र नियमित रुपमा सर्वसुलभ ढगंबाट वितरण गर्ने उदेश्यले तत्कालिन गुन्जनगर गाउँ बिकास समितिको केही वडाहरु समेट्ने गरी २०५९ सालमा गुन्जनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति विधिवत दर्ता भएको र नेपाल सरकारको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानी अवधारणा अनुसार २०६३ सालमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुर चितवन र गुन्जनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गुन्जनगर बिच रु ४ करोड २६ लाख लागत लाग्ने अनुमानित बजेट उल्लेख गरी सम्झौता भएको जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष छविलाल ढकालले आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको चालू वर्षको कुल अम्दानी ८६ लाख ०६ हजार दुई सय २७ र सस्थाको चालू वर्षको कुल खर्च ४३ लाख पाँच हजार १३५ साथै संस्थाको कुल सम्पत्ति एक करोड ०३ लाख १८ हजार ९१६ रूपैयाँ रहेको बताउनुभयो । संस्थाले उपभोक्ताबाट न्यूनतम १२ हजार लिटरसम्मको एक सय रूपैयाँ मासिक शुल्क लिँदै आएको ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णभक्त भट्टराई, संस्थाका पूर्वअध्यक्ष एकनारायण पौडेल, पूर्वउपाध्यक्ष हरिप्रसाद ढकाल, वडा सदस्य दिलु गजमेर, अम्बरबहादुर तामाङ, होमनाथ ढकाल, अनिता थापा, देवीदत्त दवाडी, कमलनाथ पौडेललगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमलार्इ संस्थाका सचिव सुरेशचन्द्र ढकालले सहजीकरण गर्नुभएको थियो ।