भरतपुर,१ साउन । भरतपुर–६, चोकबजारका स्थानीयहरु लामो समयदेखि खानेपानीको समस्यासँग जुधिरहेका छन् । पिउनलाई जारको पानी किने पनि अन्य कामका लागि पानीको जोहो गर्न उनीहरुलाई मुस्किल छ । खडेरीले इनार सुकेका छन् । खानेपानीका लागि निर्माण गरिएको ट्याङ्की पनि पटकपटक चुहिएपछि ट्याङ्कीको मर्मतमै समय बितेको छ । पानी नभएर घरै छाड्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ ।
दुईपटकसम्म चुहिएको ट्याङ्की मर्मत गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि खानेपानी वितरण नभएको स्थानीय विष्णुप्रसाद न्यौपानेले बताए । ‘ट्याङ्कीको चारैतिरबाट पानी चुहिएको थियो । कर्मचारीहरु आएर मर्मत गरेपछि अहिले चुहिन छाडेको छ’, उनले भने । खानेपानी वितरणमा भएको ढिलाइबारे आफूलाई केही थाहा नभएको उनले बताए ।
चोकबजारका रामकृष्ण देवकोटाले भएको इनार पनि खडेरीले गर्दा सुकेपछि खानेपानीको हाहाकार नै भएको बताए । अहिले जारको पानी खाने गरिएको उनले बताए । ‘वैशाखबाट इनारमा पानी सुक्यो । मोटरले पानी तान्नै छाड्यो’, उनी भन्छन्, ‘बर्खा लागेपछि अहिले बल्ल अलिअलि तान्न थालेको छ ।’ नुहाइधुवाईलगायत अन्य कामका लागि छिमेकीको धारा र आकासको पानीको भर पर्नु परेको उनले बताए ।
खानेपानी बोर्डले गएको पुसमै घरअगाडि पाइप गाडे पनि अहिलेसम्म पानी नदिएको उनी बताउँछन् । ‘हुँदै छ, पहल भइरहेको छ भन्छन्, तर कहिल्यै हुँदैन । असारमा पानी आउँछ भनियो, अहिले फेरि असोजमा भनिएको छ’, उनले भने । इनार सुकेपछि चोकबजारका १२ घरमा खानेपानीको एकदमै समस्या निम्तिएको उनले बताए । खानेपानीको समस्याले घरै छाडेर हिँड्नुपर्ने भएको उनको भनाइ छ ।
स्थानीय रीता श्रेष्ठले आफ्नो घरको चापाकल सुकेपछि तीन महिनादेखि छिमेकीको इनारबाट पानी ल्याउन थालेको बताइन् । ‘अहिले जारको पानी खाइरहेका छौँ । अरु काम गर्न कहिले आकासको पानी थाप्ने, कहिले छिमेकीकहाँबाट ल्याउने गरेको छु’, उनी भन्छिन्, ‘अहिले त छिमेकीको पनि इनार सुक्न लागेको छ ।’
भरतपुर–६ का कार्यवाहक वडाध्यक्ष रूद्र अधिकारीले खानेपानीको ट्याङ्की निर्माण र वितरणमा खानेपानी बोर्डले वडा कार्यालयसँग समन्वय नगरेको बताए । खानेपानीको काम छ महिनादेखि ठप्प रहेको उनले बताए । ‘ट्याङ्की मर्मत भइसकेको भन्नुभाको छ । ट्याङ्कीमा पानी नभएकाले चुहिएको वा नचुहिएको थाहा पाउने कुरा भएन’, उनले भने । चोकबजारमा खानेपानीको समस्या रहेकाले छिटो खानेपानी वितरण गर्न दबाब दिइरहेको उनले दाबी गरे ।
संघीय सरकारको बजेटमा चोकबजारनजिकै खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । तर, उक्त ट्याङ्की दुईपटकसम्म चुहिएपछि खानेपानी वितरण भएको छैन । विद्युत् प्राधिकरणले मिटर नदिँदा थप समस्या भएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । मिटरका लागि विद्युत् प्राधिकरणमा निवेदन दिएको डेढ महिना भइसक्दा पनि मिटर नआएको उनले बताए ।
बोर्डसँगको सम्झौतामा कृपा निर्माण सेवाले ट्याङ्की निर्माण गरेको हो । ४५० घनमिटर (चार लाख ५० हजार लिटर) क्षमताको ट्याङ्की करिब चार करोड रूपैयाँमा निर्माण भएको हो । तर, विधि र प्रविधिको प्रयोग गर्न नजान्दा ट्याङ्की दुईपटक चुहिन पुगेको दाहाल बताउँछन् ।
‘कहिलेकाहीँ ट्याङ्कीहरु रसाउँछन् । त्यसलाई बन्द गर्ने विधि छ । ट्याङ्कीभित्र प्लास्टर र वाटरप्रुफ कम्पाउन्ड राखेर बन्द गरिएको हो’, उनले भने, ‘लोकल ठेकेदारले बनाएको हो । अलिकति प्रविधि पनि नमिलेको होला, ठूलो समस्या हुँदैन ।’ दुईपटकसम्म खानेपानी ट्याङ्की चुहिनु ठेकेदारको गल्ती भएको भन्दै उनले निर्माण गरेको एक वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने बताए ।
असारदेखि खानेपानी वितरण गर्ने भनिएकामा विद्युत्ले मिटर नदिएकाले काम अगाडि नबढेको उनले बताए । मिटर आउनेबित्तिकै ट्याङ्की तयार नभए पनि सीधै पाइपमार्फत खानेपानी वितरण गरिने उनको भनाइ छ । विद्युत्ले राजस्व बुझाएको डेढ महिना भइसक्दा पनि मिटर नदिएको उनले जानकारी दिए ।