भरतपुर नयाँ सवस्टेसनको निर्माण पूरा, १६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने

भरतपुर,२ श्रावण । भरतपुर महानगरपालिका वडा नं–१, आँपटारीमा २२० केभीको नयाँ सवस्टेसनको निर्माण प्रक्रिया पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणले यस सवस्टेसनबाट एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने जनाएको छ ।

यस आयोजना प्रमुख नारायण रेग्मीले सवस्टेसन निर्माणको सम्पूर्ण काम पूरा भएर चार्जिङको तयारीमा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालबाट सवस्टेसनको उद्घाटन गराउने तयारी छ, यतिबेला चार्जिङको तयारीमा जुटेका छौँ ।’

भरतपुरमा पुरानो सवस्टेसन पनि छ । पुरानो सवस्टेसन १३२ केभी क्षमताको छ । नयाँ तयार भएको सवस्टेसन २२० केभी क्षमताको हो, जुन सवस्टेसन तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी सम्पन्न भएको छ । नयाँ भरतपुर सवस्टेसन ‘ग्यास इन्सुलेटेड सवस्टेसन ९जिआइएस०’ प्रविधिमा आधारित छ ।

नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका सवस्टेसन लमजुङ, उदीपुर, मनाङ र भरतपुर गरी चार ठाउँमा निर्माण प्रक्रिया अघि बढाएको थियो, जसमध्ये भरतपुरको पूरा भएको हो । ‘भरतपुरको नयाँ सवस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका कामहरु लगभग पूरा भएको छ, सवस्टेसन चार्जिङ गर्न बाँकी छ’, आयोजना प्रमुख रेग्मीले भने, ‘यो हप्तापछि चार्जको काम सुरू गर्नेछौँ । सवस्टेसन पूरा ठीक छ भन्नलाई करिब ४ महिना चार्ज गरेर हुेर्नुपर्ने हुन्छ ।’

चार्ज गरेपछि विद्युत् प्रवाहका लागि हेटौँडाको २२० केभीको सवस्टेसन तयार हुनुपर्ने रेग्मी बताउँछन् । उनी भन्छन्, ‘हेटौँडाको सवस्टेसन तयार भएको छैन, छिटो तयार गर्छौं भनेर जवाफ आइरहेको छ ।’ उनले भरतपुरको २२० केभीको प्रसारणलाइनबाट विद्युत् प्रवाह हेटौँडा र अर्को बर्दघाटतर्फ हुने बताए । यस्तै, भरतपुरको सवस्टेसनबाट मार्कीचोक आँबुखैरहनीतर्फ पनि विद्युत् प्रसारण हुनेछ ।

‘बर्दघाटको २२० को सवस्टेसन चार्जिङ भएर तयारी अवस्थामा छ, आँबुखैरहनीको तीन महिनामा तयार हुन्छ । हेटौँडाको थोरै समय लाग्छ कि जस्तो छ’, आयोजना प्रमुख रेग्मीले भने, ‘तीनतर्फको सवस्टेसन तयार भएपछि भरतपुरको २२० केभीको सवस्टेसनबाट विद्युत् प्रवाह हुन्छ ।’

नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी लार्चेन एण्ड टर्बो ९एलएण्डटी०सँग २०२० मा तीन अर्बको लागतमा ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको कारण तोकिएको समयमा निर्माण पूरा भएको थिएन । हाल भरतपुरको सवस्टेसन तयार भए पनि लमजुङको उदीपुरमा सवस्टेसन अझै तयार भइसकेको छैन ।

नयाँ भरतपुर र उदीपुर सवस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु छन् ।

आयोजना प्रमुख रेग्मीका अनुसार मस्र्याङ्दी करिडोरको उत्पादित विद्युत् र तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १४० मेगावाट विद्युत् आँपटारीको २२० केभीको सवस्टेसनमा जडान गरी हेटौँडा र बर्दघाटतर्फ पठाइनेछ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक ९इआइबी०को सहुलितपूर्ण करिब १६ अर्बको ऋणमा नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा सवस्टेसन निर्माणका कामहरु अगाडि बढाएको हो । चितवन पोष्ट