लम्पी स्किन सङ्क्रमण नियन्त्रणतर्फ चितवन

भरतपुर,२ श्रावण । पशु विशेषगरी गाइगोरू र भैँसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणतर्फ उन्मुख रहेको पशु कार्यालयले जनाएको छ । ‘खोप किन्नका लागि सोमबारमात्रै प्रदेश सरकारले आठ लाख दिने निर्णय गरेको सुनेको छु’, पशु कार्यालय भरतपुरका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले भने, ‘ढिलै भए पनि प्रदेश सरकारले किसानको घाउमा मलम लगाउने काम गरेको छ ।’

उक्त रकमबाट ४५ सय खोप किन्न सकिने उनले बताए । साउन महिनाभित्र सबै पालिकामा समानुपातिक हिसाबले खोप पठाइने उनले बताए । वरिष्ठ पशु विकास अधिकृत केसीले माडी, इच्छाकामना, रत्ननगर, भरतपुर र राप्तीका स्थानीय तहले खोपको व्यवस्था गरेको जानकारी दिए ।

सङ्क्रमण रोकथामका लागि जैविक सुरक्षा र उपचारमा विशेष ध्यान दिइएको उनले बताए । चितवनमा हालसम्म १३ हजारजति गाईभैँसीलाई खोप लगाइएको कार्यालयले जनाएको छ । गाईभैँसी दुई लाखजति रहेको तथ्याङ्क कार्यालयसँग छ ।

‘बेलैमा खोप लगाएपछि नियन्त्रणतर्फ उन्मुख छ’, उनले भने, ‘थप खोप आउँदैछ, त्यो लगाएपछि सङ्क्रमण हट्ने विश्वास लिएका छौँ ।’ जिल्लाका स्थानीय तहहरु आफैँले किनेर लगाएका छन् । त्यस्तै व्यावसायिक किसानले आफैँ लगाएका छन् । किसानको राहतका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कुरा भएको उनले बताए ।

चितवनका सातवटै स्थानीय तहमा अहिले गाईगोरू र केही भैँसीमा समेत लम्पी स्किन रोगको प्रकोप छ । असार ११ गतेसम्म एक सय ७६ वटा गाईगोरू र भैँसी मरेको तथ्याङ्क पशु कार्यालयसँग रहेको थियो । तर, असार मसान्तसम्म थप दुईवटा मात्र (१७८) गाई मरेको वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिए ।

जेठ २३ गतेसम्म चितवनमा जम्मा ८४ वटा गाईगोरू र भैँसी मरेका थिए । तर, असार ११ गतेसम्म २० दिनको अन्तरालमा लम्पी स्किनबाट हुने मृत्यु र सङ्क्रमणदर दुवै दोब्बरले बढेको थियो ।

सबैभन्दा बढी मृत्यु इच्छाकामनामा ६२ वटा रहेको छ । राप्ती नगरपालिकामा असार ११ गतेसम्मको तथ्याङ्कअनुसार पालिकामा ३९ वटा गाईभैँसी मरेको छन् । कालिकामा लम्पीबाट मृत्यु हुनेको संख्या १० वटा छ ।

खैरहनी नगरपालिकामा १० वटा गाईभैँसीको मृत्यु भएको पालिकाले जनाएको छ । भरतपुरमा मृत्यु भएका ३४ वटा छन् भने रत्ननगरमा १४ वटाको मृत्यु भइसकेको छ । त्यस्तै, माडी नगरपालिकामा छवटाको मृत्यु भएको छ ।

लम्की स्किन रोगको मुख्य लक्षणहरुमा घाँटी, पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागहरुमा साना–ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो आउने, कचेरा, सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपना हुनेजस्ता समस्या देखा पर्ने प्राविधिकको भनाइ छ ।

यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्दछ । यसबाहेक सङ्क्रमित गाईभैँसीको लसपस र ओसारपसार, सङ्क्रमित र स्वस्थ गाईभैँसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र सङ्क्रमित गाईभैँसीबाट जन्मेका बच्चामा पनि यो रोग देखा पर्छ ।

कास्कीमा खोप लगाइँदै

यसैबीच पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरूद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ ।

महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरू नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरू गरिएको हो । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भैँसी र गोरूलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले सुरूआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताए । उनले भने, “अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्पीका लागि बजेट र खोपको व्यवस्था थिएन । असारको अन्तिम साता आएर बल्ल बजेट व्यवस्था भए पनि खोप खरिद गरेर खोप कार्यक्रम सुरू गरेका हौँ ।”

महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएका थिए । प्रदेश सरकारले लम्पी स्किनविरूद्धको खोपका लागि रू १० लाख बजेट जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको थियो । जिल्लामा हालसम्म १३ हजार तीन सय सात गाई गोरू र तीन सय ३१ भैँसी पशु लम्पी स्किनबाट सङ्क्रमित भएकामा चार सय २९ को गाई गोरू मरेका छन् ।

भैँसी भने सङ्क्रमबाट मरेका छैनन् । पोखरा महानगरपालिकामा सबैभन्दा बढी पशु सङ्क्रमित छन् । पोखरामा १० हजार दुई सय ४२ गाई गोरू र दुई सय ७१ भैँसी सङ्क्रमित भएको केन्द्रका पशुविकास अधिकृत सहदेव पौडेलले जानकारी दिए । चितवन पोष्ट