भरतपुर अस्पतालमा एमआरआई मेसिन आउने पक्का

भरतपुर,३ साउन भरतपुर अस्पतालले खरिद गर्न खोजेको एमआरआई मेसिनका लागि सम्झौता भएको छ । गत असार ३० गते सप्लायर्ससँग सम्झौता भएको हो । असार ३१ मा बैंक खाता खोलेर एलसीको काम अघि बढेकाले मेसिन आउने निश्चित भएको हो । खरिद प्रक्रिया थालेको एक वर्षमा सेवा दिने तयारीका साथ काम भइरहेको अस्पतालले जनाएको छ ।

एमआरआई खरिदमा एउटा कम्पनीले मात्र टेन्डर प्रक्रियामा सहभागिता जनाएको छ । इस्ट वेस्ट कम्पनी ९सिमेन्स नामको मेसिन खरिदकर्ता०ले मात्र टेन्डर हालेको अस्पतालले जनाएको छ । मेसिन जर्मनमा बन्नेछ । ई–बिडिङमार्फत टेन्डर आह्वान गरिएको थियो । अत्याधुनिक अवस्थाको एमआरआई मेसिन खरिद गर्नु परेको भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आह्वान गरेको हो । ३० करोडबराबरको मेसिन खरिद गर्न लागिएको भरतपुर अस्पतालले जनाएको छ ।

आगामी पुस महिनामा अस्पतालमा मेसिन आइपुग्ने र माघबाट सेवा नै सुरू गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए । ‘अहिले दैनिक १५ देखि २० जना बिमा सुविधाका बिरामी एमआरआई गर्नका लागि पुरानो मेडिकल कलेज सिफारिस भई जान्छन्’, भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले भने, ‘केन्द्रीय अस्पतालको रुपमा मान्यता पाइसकेको भरतपुर अस्पतालमा एमआरआई सेवा पाउनु आफैँमा गौरवको विषय हो ।’

‘सरकारी अस्पतालबाट सेवा पाउने कुरा आफ्नो ठाउँमा छ, अहिले अन्यत्र १४ हजारभन्दा कम मूल्यमा यो सेवा पाइन्न, हामी दस हजार रूपैयाँजतिमै यो सेवा दिन सक्छौँ’, उनले भने ।

भरतपुर अस्पतालको सेवा थप गुणस्तरीय बनाउनका लागि एमआरआई मेसिन अत्यावश्यक रहेको अस्पतालका मेसु डा। पौडेलले बताए । विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले मेसिन खरिदका लागि आफूहरुले निरन्तर ताकेता गरेको मेसु डा. पौडेलले बताए ।

बढीभन्दा बढी कम्पनीको प्रतिस्पर्धात्मक सहभागिता रहोस् भनी भेन्डरको लिखित आग्रहमा टेन्डर खुल्नु केही दिनअघि १२ वटा बुँदा संशोधन गरिएको थियो ।

गत वर्ष जनवरी १ तारिखका दिन ४५ दिनको समय राखेर भरतपुर अस्पतालले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ)अन्तर्गत एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाएको थियो ।

पाँच वर्षको वारेन्टी रहने, वर्षमा तीनपटक नियमित मर्मत गर्ने तथा आवश्यक पर्दा जतिखेर पनि मर्मत गर्ने, १० वर्षसम्म सेवा र मेसिनका पाटपुर्जा उपलब्ध गराउनुपर्ने, मेसिन सन् २०१५ भन्दायताको मितिमा उत्पादन भएको हुनुपर्नेलगायतका सर्त बोलपत्रमा उल्लेख छ । नेपालमा यो प्रकृतिको एमआरआई मेसिन भेरी अस्पताल सुर्खेतमा केही दिनअघि राखिएको छ । दोस्रो भरतपुर अस्पताल रहनेछ । चितवन पोष्ट