युएईमाथि नेपालको सानदार जित

काठमाडौं,३ श्रावण । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए लाई पराजित गरेको छ ।

पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको छ । युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा र देव खनालले समान २४र२४ रन बनाए ।

युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १र१ विकेट लिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

(खेलपाटि)