सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित विमानस्थलबाट ४ पक्राउ

काठमाडौँ, ४ श्रावण ।  प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।

बरामद मुद्रा करिब सवा करोड रुपैयाँ बराबर रहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो ।

यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करीको मुद्राको साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरी स्रोतले जनायो । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ ।

राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो । विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरुको मिलोमतोका कारण सुन, विदेशी मुद्रा तस्करी लगायतका अपराध मौलाउँदै गएको छ । कान्तिपुर दैनिकमा खबर छ ।