खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङ, ४ श्रावण । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो ।

जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ ।

जन्तेढुङ्गा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौँचुरका किसानले व्यावसायिक रुपमा किबी खेती गरेका छन् ।

जिल्लामा हेवार्ड, एलिसन र रातो किबी लगाउने गरिएको किसानले बताएका छन् । ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा कृषि तथा पशुपक्षी फर्म जालपाले रु पाँच लाख ९९ हजार २५०, नमूना कृषि फर्म ऐँसेलुखर्क र नमुना कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र ऐँसेलुखर्कले किबी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत रु छ÷छ लाख अनुदान पाएका छन् ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पाँच मेट्रिक टनले लिचीको उत्पादन बढेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक सय ४८ मेट्रिक टन लिची उत्पादन भएको जिल्लामा २०७९/८० मा एक सय ५३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

जिल्लाभर एक सय ५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाइएको लिचीले मात्रै उत्पादन दिँदै आएको जनाइएको छ । जिल्लाको कुभिण्डे, खार्पा, हाँैचुर, दुवेकोल, डुम्रेधारापानी, बुइपा, विजयखर्क, महादेवस्थान, धितुङ लगायतका स्थानमा व्यवसायिक रुपमा लिची खेती हुँदै आएको छ ।

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा गतवर्ष रु एक करोड बढीको लिची उत्पादन भएको थियो । जिल्लामा उत्पादित लिची सदरमुकाम दिक्तेल, धरान, विराटनगर तथा राजधानी काठमाडौँमा समेत निर्यात हुँदै आएको छ ।

यस्तै, खोटाङमा गत वर्षको तुलनामा यसवर्ष आँपको उत्पादन घटेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक सय ९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/८० मा उक सय ८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षभन्दा यसवर्ष बढी कीरा लाग्नाले आँपको उत्पादन घटेको किसानले बताएका छन् । जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिए पनि ५९ हेक्टर क्षेत्रफलमा लगाइएको आँपले मात्रै उत्पादन दिंदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फलफूल खेती प्रवद्र्धनका लागि हरेक स्थानीय तहले किसान समूहलाई बर्सेनि फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै आएको छ ।

स्थानीय तहले निःशुल्क वितरण गरेको फलफूलका बिरुवाले समेत उत्पादन दिन थालेको पाइएको छ । खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यका साथ निःशुल्क बिरुवा वितरण गरिएको स्थानीय तहहरुले बताएका छन् । जिल्लामा उत्पादित फलफूललाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी स्थानीय तहले तयारी थालेका छन् । रासस