विश्व आदिवासी दिवस मनाइने

काठमाडौँ, ४ साउन । उनान्तीसऔँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिनुभयो ।

महासङ्घको बैठकले उक्त दिवसका लागि केन्द्रीय अध्यक्ष गेल्जे लामाशेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारी सदस्य रहने गरी मूलसमारोह समितिसमेत गठन गरेको छ । बैठकले उक्त दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।

सो दिवसमा अवसरमा विभिन्न जातीय समुदायको झाँकी तथा ¥याली प्रदर्शन गरिने, फुड फेस्टिभल आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । त्यस अवसरमा अन्य विभिन्न जातीय सङ्घ संस्थासँग मिलेर साताव्यापी विभिन्न कार्यक्रम गरिनेसमेत महासङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले अगष्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन् ।