चितवन अदालतद्वारा २६ सय वर्ष कैद र १६ करोड जरिवाना असुल्न बाँकी

चितवन, ६ श्रावण । चितवन जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्ष २०७९/८० मा एक हजार १५६ निवेदन दर्ता भएका थिए । तीमध्ये ५७३ वटा निवेदन पछ्र्यौट भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए ।

उनका अनुसार गत आवसम्म तीन हजार ६९९ वर्ष एक महिना ६ दिन कैद असुल गर्नुपर्ने जिम्मेवारी रहेकोमा एक हजार नौ वर्ष तीन महिना चार दिन मात्रै असुल भएको छ । अझै दुई हजार ६८९ वर्ष १० महिना दुई दिन कैद असुल गर्न बाँकी छ । त्यस्तै, प्रतिवादीहरुबाट २३ करोड ३१ लाख ८२ हजार ५९२ रुपैयाँ जरीवाना असुल गर्नुपर्नेमा गत आवमा छ करोड ५० लाख ३१ हजार ७५९ रुपैयाँ जरीवाना असुल भएको उनले बताए । अब १६ करोड ८४ लाख २४ हजार ७३० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।

पिडितलाई ५१ लाख ६६ हजार ५६५ रुपैयाँ क्षतिपुर्ती दिनुपर्नेमा नौ लाख ३५ हजार रुपैयाँ दिइएको र ४२ लाख ३१ हजार ५६५ रुपैयाँ दिन बाँकी रहेको उनले जानकारी दिए ।

त्यस्तै, अदालतमा गत आवमा पुरानो र नयाँ गरी पाँच हजार ६०० मुद्धा दर्ता भएका थिए । त्यसमध्ये तीन हजार २४९ मुद्धा पछ्र्यौट गर्ने लक्ष्य राखिएकामा तीन हजार ६१३ मुछा पछ्र्यौट भएको उनले बताए । यस हिसाबले गत आवमा लक्ष्यभन्दा ११।२ प्रतिशत बढी मुद्धा पछ्र्यौट भएको देखिन्छ ।

अघिल्लो आव २०७८/७९ को २२० मुद्धा र गत आवको एक हजार ७६७ मुद्धा गरी एक हजार ९८७ मुद्धा यस आव २०८०/८१ को लागि जिम्मेवारी सरेर आएको छ । पछ्र्यौट गर्न बाँकी रहेकामध्ये दुई वर्ष नाघेका छ वटा र डेढ वर्ष नाघेका ५४ वटा मुद्धा विचाराधिन अवस्थामा छन् । जबरजस्ती करणी र मानव बेचबिखन जस्ता निरन्तर सुनुवाई हुने ५० वटा मुद्धा यस आवको लागि जिम्मेवारी सरेर आएका छन् । नारायणी अनलाईन