भरतपुरमा शनिबारे मेलाको एकतिर उद्घाटन अर्कोतिर बिरोध

चितवन, ६ श्रावण । भरतपुर बजार ब्यबस्थापन समितिले चितवन उद्योग संघले आयोजना गरेको शनिबारे बजार मेलाको बिरोध गरेको छ । शनिबार चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा आयोजना भएको मेलाको उद्घाटन हुँदै गर्दा बाहिर शान्तिपूर्ण बिरोध गरेको हो ।

लामो समयबाट बजार अस्तब्यस्त हुँदा ब्यवसायी पलाएन हुने अवस्था आउँदा सम्बन्धित निकाय मौन हुनु र प्रदर्शनी केन्द्रलाई हाटबजार बनाएर भरतपुरका ब्यवसायी थप मारमा पार्ने काम चितवन उद्योग संघले गरेको भन्दै भरतपुर बजार ब्यबस्थापन समिति र फेन्सी ब्यवसायी संघले बिरोध गरेको हो । “भरतपुर बजार बचाउ अभियान” का अभियान्ता तथा भरतपुर बजार ब्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले स्थानिय सरकारले खसीको टाउको देखाएर बाख्रीको ब्यापार गर्न तल्लिन रहेको बताउदै ब्यावासायीलाई मारमा पारेर सिमित संस्थालाई धनी बनाउने काममा स्थानिय सरकार लागी परेको आरोप लगाउनुभयो । उद्योग संघ र स्थानिय सरकारको मिलेमतोमा स्थानिय ब्यवसायी मारमा पार्नेगरी काम गरे सटर बन्द गरेर तालाचाबी महानगरमा बुझाउने बताउँदै उहाँले यस्तै गरिरहे महानगरलाई ब्यावसायीले तिर्ने कर नतिर्ने चेतावनी दिनुभयो ।

बिरोध कार्यक्रममा १५० जना भन्दा धेरै ब्यवसायी सहभागी रहेका थिए । चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजबाट प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा “शनिबारे मेला”को शुभारंभ गरेको छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने र स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरुको स्टल रहने दाबी आयोजकको छ ।

मेलामा ताजा फलफुल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामाग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु राखिएको छ ।