दमौली, ५ श्रावण । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति देखिन थालेपछि सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो ।
ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटकहरु सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताउनुभयो ।
सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो ।”
ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडी बढाइएको हो ।पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रबद्र्धनमा जुटेको हो । यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडी बढाइएको चुमानको भनाइ छ ।
ऐनापहरामा पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,” चुमानले भन्नुभयो, “सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।”
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् ।
पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको छ । काठमाडौ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारणहरु सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।
गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडी सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।
तनहुँकै अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस