शुक्रनगर, ८ श्रावण । एक्लाएक्लै खेती गर्दा ठूलो क्षति व्यहोरेका भरतपुर–२५ का उत्साही युवाहरुले सामूहिक खेतीबाट राम्रो आर्जन गरेर देखाएका छन् । बाबुहरुले गर्दै आएको कृषिकर्मलाई बचाउन छोराहरुको पुस्ताले सामूहिक खेतीको योजना बनाएर छुट्टाछुट्टै खेती गर्दै आएको जमिनलाई समूहमा ल्याएका हुन् ।
युवा आधुनिक सामूहिक खेती फार्म स्थापना गरी १८ परिवारले सुरू गरेको सामूहिक खेतीमा थप कृषकहरु आकर्षित भएका छन् । सामूहिक खेती सुरू गरेको पनि ४ वर्ष भयो । उनीहरुले समूहमा गर्दा सुरूको वर्ष ५० बिगाहा, दोस्रो वर्ष ९० र तेस्रो वर्ष बढाएर सय बिगाहा बनाएका थिए ।
सामूहिक खेतीमा अहिले दस जना थपिएर २८ जना पुगेको र १०० बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती सुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष लेखनाथ भूषालले बताए ।
भरतपुरका २०, २३, २४, २५ गरी चारवटा वडामा कृषिकर्म फैलिएको उनी बताउँछन् । ‘अहिलेसम्म सबैले सबै किसिमका तरकारी थोरै थोरै उत्पादन गर्थे भने अब प्लटअनुसारको उत्पादन गर्न थालेका छन् । २८ वटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछन्’, भूषालले भने, ‘यसले गर्दा किसानलाई धेरै थरी तरकारी उत्पादनको झन्झट भएन ।’
सामूहिक खेतीले बालीमात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो हुन गएका खेत सामूहिक खेतीले उब्जाउ बनेका छन्’, अध्यक्ष भूषाल भन्छन्, ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’ आफ्नो पनि एक बिघा जमिन सामूहिक खेतीमा लगाएका उनी गराहरु ठूला र मिलेका बनाउँदै लैजाँदा उत्पादकत्वसँगै नाफाको अनुपात बर्सेनि बढिरहेको बताउँछन् ।
‘पहुँचमा हुनेले खेती नै नगरी पनि अनुदान लगिरहेका रहेछन्, तर हामी दिनरात मेहनत गर्नेलाई प्राविधिक सहयोग पाउन पनि गाह्रो थियो’, उनले भने, ‘समूहमा भएपछि हाम्रो आवाज पनि ठूलो भएको छ, सरकारले पनि सुनेको छ ।’
उनीहरुले तरकारीखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् । ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान पाएका थिए भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रूपैयाँ अनुदान पाएको उनले बताए ।
यस्तै, महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री जस्तैः हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिंचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् । त्यति मात्रै हैन, सरकारीतर्फबाट तालिमहरु पाइरहेको पनि उनी बताउँछन् । ‘यसरी तरकारीखेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ’, उनले भने ।
बिहानदेखि बेलुकासम्म तरकारी हेरचाहमा व्यस्त रहने उनीहरुले थप ५० जनालाई रोजगारसमेत दिएका छन् । सबैले आआफ्नो विभाग छुट्टयाएर काम गर्छन् । दिनभर कृषिकर्ममा रमाउँदा आनन्द लाग्ने गरेको उनी बताउँछन् । तनावका बेला तरकारी बारीमा गएर काम गर्दा तनावबाट मुक्ति मिल्ने गरेको उनको अनुभव छ । ‘सबै किसानले परम्परागत खेतीलाई आधुनिकतातर्फ डो¥याउँदै जाने हो भने कामका लागि भौँतारिन पर्दैन, आफ्नै देशमा राम्रो कमाइ हुन्छ । भूकम्पपछिको नाकाबन्दीका कारण अब म आफैँ आफ्नो लागि उत्पादन गर्नुपर्छ भनेर तरकारीखेतीमा लागेको हुँ । अहिलेसम्म राम्रो भइरहेको छ, एकदमै खुसी छु’, अध्यक्ष भूषालले भने ।
उनको बारीमा अहिले धानखेतीदेखि घिरौँला, बोडी, करेला, फर्सी हुर्किरहेका छन् । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भूषालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’
सुरूका वर्षहरुमा खेती गर्न उनीहरुलाई त्यति सजिलो थिएन । ‘सुरूका वर्षमा हामीले पनि केही समस्या झेल्नुप¥यो, ‘उनले भने, ‘दोस्रो वर्षदेखि भने व्यवसाय पनि राम्रो भयो र सबैले प्रशंसा गर्न थाले, अहिले समूहका सबैको परिवार र छिमेकी खुसी छन् । सिजनमा तरकारीका साथै अन्नबाली पनि लगाउने र राम्रोसँग अध्ययन गरेर कृषि क्षेत्रमा आउने हो भने घाटा हुँदैन र काम खोज्न भौँतारिनु पनि पर्दैन । किनकि म आफैँले भोगेको कुरा भन्दैछु ।’
मानिसहरुले कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । सबै चीजको अध्ययन गरेर कृषि गर्ने हो भने आफ्नै देशमा स्वर्ग रहेको उनले बताए । अन्नबाली र तरकारीखेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए ।
समूहका सचिव सुमन सुवेदीले अब बीउदेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पु¥याउने समयसम्म बिचौलियाको जगजगी थियो’, सुवेदीले भने, एक्लै–एक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’
उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती अघि बढाए । बजार बनाए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् । ‘कोरोना भाइरसको महामारीले हाम्रो पेसालाई पनि अप्ठ्यारो अवस्थामा पु¥यायो । यही बेलामा बिचौलियाको जगजगी भयो, सुवेदीले भने, ‘वर्षौंदेखिको पेसालाई निरन्तरता दिन अहिले मैले अन्य कामलाई कम समय दिएर कृषिलाई प्राथमिकतामा राखेको छु ।’ रामशरण गैरे/चितवन पाेष्ट