अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन

भरतपुर, ९ श्रावण । भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले बताउनुभयो । वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन,भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले सोमबार भरतपुर महानगरपालिकाले १३ वटा होटेल तथा किराना पसलमा अनुगमन गरेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको भन्दै पुनः सोही अवस्था दोहोरिए बन्द गराइने चेतावनी दिनुभयो ।

अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटेलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटा होटेलमा ताला लगाइएको छ । पुरानो मेडिकल कलेजभित्रका दुई वटा होटेल, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्याण्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उहाँले बताउनुभयो ।

सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्का लगाएतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो । त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसल समेत बन्द गराइएको छ । त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए । अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ । रासस