काठमाडौँ, ९ श्रावण । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । “अन्य क्षेत्रमा पनि श्रमको उचित मूल्य पाएका छैनन्, तर त्यो आवाज उठाउने सञ्चार क्षेत्रमा श्रमको शोषण हुनु हुँदैन”, उहाँले भन्नुभयो, “अरूका लागि पनि आवाज उठाउने सञ्चार क्षेत्रमै समस्या भयो भने कसरी आवाज उठाउन सकिन्छ ?”
पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्नका लागि सञ्चारगृह सञ्चालकलाई आग्रह गर्दै उहाँले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
सञ्चार संस्था सञ्चालन गर्दा श्रमको सम्मान गर्दे आर्थिकरुपमा सक्षम भएर मात्र सञ्चारमाध्यम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै श्रमिकले काम गरेबापत पैसा लिन अदालतमा मुद्दा हाल्न जानुपर्ने अवस्था सही नभएको उहाँको भनाइ छ ।
“मिडियामा काम गर्ने अनि पैसा लिन अदालतमा गएर मुद्दा हाल्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अदालतले आदेश दिँदा पनि श्रमजीवि पत्रकारले पैसा नपाएको अवस्था देखिएको छ ।” उहाँले श्रमिक र सञ्चालकबीच न्यायिक सम्बन्ध हुनुपर्नेमा जोड दिँदै त्यो भनेको श्रमको सम्मान भएको बताउनुभयो ।