बाघमारा वनद्धारा अधिकारीको परिवारलाई राहत रकम हस्तान्तरण

रत्ननगर, ९ श्रावण । बाघमरा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट मृत्यु भएका नबराज अधिकारीको परिवारलाई मंगलबार राहत रकम प्रदान गरिएको छ ।

साउन ४ गते सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर ६ निबासी ७६ बर्षीय अधिकारीको गैंडाको आक्रमणबाट मृत्यु भएको थियो । बाघमरा मध्यवर्ती सामुदायिक वनले राहत स्वरुप अधिकारीका परिवारलाई ५० हजार रुपैया प्रदान गरेको छ ।

चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत सरोजमणि पौडेल र वनका अध्यक्ष जीतु तामाङले मृतक परिवारका सदस्य गणेश अधिकारीलाई ५० हजार रुपैयाका चेक हस्तान्तरण गरेका थिए । सो अबसरमा वनका अध्यक्ष तामाङले सामुदायिक वनले आफ्ना उपभोक्ताको मृत्यू हुँदा काजकिरिया खर्चको लागि ५० हजार रुपैया सहयोग गर्दै आएको बताए । उनले नेपाल सरकारबाट आउने १० लाख राहत रकमका लागि प्रक्रिया सुरु गरिसकेको बताए ।

सीप विकास मार्फत उपभोक्ताको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम ल्याएको भन्दै अध्यक्ष तामाङले सकभर वनमा नजान आग्रह गरे । सो सामुदायिक वनको आम्दानीको मुख्य श्रोत सौराहाको पर्यटन हो । आम्दानीको अधिकाँस हिंसा संरक्षण र उपभोक्ताको गरिवी निवारणको लागि खर्च गर्दै आएको अध्यक्ष तामाङले बताए । वन संरक्षण, वालीनालीको क्षतिराहत, वन र बस्तीको सिमानमा पर्खाल तथा उपभोक्ताका लागि सीप मुलक तालिम सञ्चालन गर्दै आएको उनको भनाई छ ।

चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज र सामुदायिक वनको मोह विस्तारै हटाउनु पर्ने बताए । मानिसको दैनिकी फेरिदै छ उनले भने अब युग अनुसार चल्नु पर्छ,वनप्रतिको मोह कम गर्दै जानुपर्छ । उनले सकभर जंगल नजान र जानै परे सुरक्षित भएर जान आग्रह समेत गरे । राहत रकम हस्तान्तण कार्यक्रममा वनका सचिव कृष्ण भट्ट,कार्यसमिति सदस्य सरस्वती चालिसे लगायतको सहभागिता रहेको थियो । चितवन पोष्ट