‘नाङ्गो गाउँ’ मा राजनीति

काठमाडौँ, १० श्रावण । चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बन्नुभएका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिनुभयो ।

“सामाजिक विषयवस्तुमा बनेको चलचित्रको सार्वजनिक दृश्यले राजनीतिलाई पृष्ठभूमि बनाएको छ । चलचित्र पूर्ण मनोरञ्जनात्मक छ”, उहाँले भन्नुभयो । लामाकै लेखन रहेको चलचित्रमा ‘एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ’ भन्ने कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अङ्कित खड्का, निमा पाण्डेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

जय श्रेष्ठले निर्माण गर्नुभएको चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता, आलोक शुक्ला छायांकार, बनिष शाह सम्पादक हुनुहुन्छ ।