टिकाथलीमा बिहिबारदेखि ‘भाजु तरकारी तथा फलफूल बजार’ संचालन हुँदै

ललितपुर, १० श्रावण । ललितपुरको महालक्ष्मी नगरपालिका –५, टिकाथलीमा २ रोपनी ( ३० आना ) क्षेत्रफलमा व्यवस्थि ‘भाजु तरकारी तथा फलफूल बजार’ संचालन हुँदै छ । महालक्ष्मी नगरपालिकाकै पहिलो र एकमात्रै व्यवस्थित तरकारी बजारमा ७० वटा स्टल तथा सटर रहने छन् । उक्त तरकारी बजारमा गाउँको ताजा तरकारी तथा फलफूल ल्याउने अनि सस्तो मूल्यमा बिक्री गराउने संचालक आदिल महर्जनले दाबी गरेका छन् ।

‘सस्तोमा उपभोक्ताहरुलाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकहरुको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियाहरुलाई निषेध गर्न तरकारी बजार खोलिएको हो’, संचालक महर्जनले भने । बजारमा मौसमी र बेमौसमी तरकारी, फलफूल, दुर्गम गाँउमा उत्पादन हुने गुन्द्रुक, पिठोको स्टलदेखि, जिउँदो माछा र सहकारी संस्था पनि हुने बताइएको छ ।

उक्त तरकारी बजारमा आउने उपभोक्ताहरुलाई प्रयाप्त पार्किङको व्यवस्था समेत गरिएको छ । साउन महिनाको स्टल तथा सटरको भाडा निःशुल्क गरिएको संचालक महर्जनले जानकारी दिएका छन । साउन ११ गते, बिहीबार बिहान ०७ः०० बजे, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता र नगर उप – प्रमुख लक्ष्मी महर्जनको विशेष आतिथ्यतामा उक्त बजारको उद्घाटन गरिने भएको छ ।