माडी, १० श्रावण । चितवनकाे माडी नगरपालिका वडा नं. ८ र ९ जोड्ने घाँघर खोलामा बुधबार आएको बाढीले बस पल्टाएको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले पल्टाएको हो ।
बगई बसपार्कबाट करिब ९ः२५ बजे छुटेको छाहारी यातायात प्रा।लीको बस भरतपुर जाने क्रममा खोलामा फसेको थियो । बसमा सवार ५ सबै जना यात्रुहरुलाई सकुशल उद्धार गरिएको र बाढीबाट बस निकाल्ने प्रयास सुरु गरिएको माडी–९ का वडाध्यक्ष घनश्याम दवाडीले बताए ।
‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो, ’उनले भने, नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत घाँघर खोलामा पुल निर्माण सुरु भई ३ वटा स्पान ढलान भइसकेपनि बाँकी काम अधुरै रहँदा सबै सवारीसाधन खोलामै हेलिएर वारपार गर्नुपर्ने अवस्था रहेको छ ।