आर्थिक अभावमा एक युवकको उपचारमा समस्या

माडी, ११ श्रावण । माडी नगरपालिका वडा नं–८, दक्षिण अयोध्यापुरीका ३० वर्षीय सुरेश सुवेदी (सौरभ)लाई उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको छ ।

विगत १ महिनादेखि लगातार ज्वरो आई टाउकोमा पानी जमेको हुँदा भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखी हाल उनको उपचार भइरहेको छ । उपचारकै क्रममा दिमागमा पानी जमेको कारण अप्रेसन गरिएको र बिरामीलाई हाल न्यूरो सर्जरी वार्ड बेड नम्बर ९ मा राखिएको जनाइएको छ ।

लामो समय अस्पताल राख्नुपर्ने र त्यसका लागि लाखौँ रूपैयाँ लाग्ने हुँदा बिरामीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारमा सघाउन स्वदेश तथा विदेशमा रहने व्यक्ति तथा संघसस्थालाई परिवारले अनुरोध गरेको छ ।

असारको पहिलो साता अत्यधिक ज्वरो आउने र टाउको दुख्ने समस्या भई पुरानो मेडिकलमा लगेर सिटी स्क्यान गर्दा केही पनि नदेखिएपछि घर फर्काइएकोमा पुनः समस्या देखिएको हुँदा हाल सरकारी अस्पतालमा उपचार सुरू गरिएको हो ।
पुनः असार ११ गते अत्यधिक ज्वरो आएकोले सरकारी अस्पतालमा इमर्जेन्सीमा भर्ना गरी सोही रातिदेखि आइसियूमा राखिएको बिरामीकी बहिनी सुमित्रा सुवेदीले बताइन् ।

बिरामीको उपचारमा हालसम्म ३ लाख रूपैयाँ खर्च भएको र अझै खर्च लाग्ने डाक्टरले बताएपछि बिरामीका परिवारजनले उपचार गर्न भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् । उपचारमा सबैले सक्दो सहयोग गरेमा निको हुनेमा आशावादी रहेकी वहिनी सुमित्राले सबैले सहयोय गरेर दाजुलाई बचाइदिन अनुरोध गरेकी छन् ।

यसैबीच, सामाजिक संस्था साबिक अयोध्यापुरी माडी–भरतपुर सम्पर्क समाजले बिरामी युवा सुवेदीको उपचारमा आर्थिक सहयोगका लागि अपिल गर्दै अभियान सुरू गरेको छ । समाजले बिरामीको आर्थिक अवस्था कमजोर भएकाले उपचार सहयोगका लागि अभियान सुरू गरेको हो ।

संस्थाका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले बिरामीको उपचारका लागि संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुका साथै साबिक अयोध्यापुरी तथा माडीवासीलगायत सबैलाई सकेको आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् ।

रामशरण गैरे (चितवन पोष्ट)