‘चिया बेचेर गरेको बचत सहकारीले खाइदियो’

भरतपुर, १२ श्रावण । इन्द्रबहादुर गुरूङ र बिना गुरूङको जोडी सानोतिनो होटल थापेर बसेको वर्षौं भयो । घरमा सानो घुम्ती पसल छ । घर भरतपुर महानगर वडा–३ को कार्यालयअगाडि छ । चिया बेचेर उनीहरुको गर्जो टरेको छ । अहिले उनीहरुको साथमा नातिनी छिन् । उनी बालकुमारी कन्या स्कुलमा ५ कक्षामा पढ्छिन् । आफ्नो दैनिक आवश्यकता पूरा गर्दै रहे बचेको थोरै रकम सहकारीमा जम्मा गर्ने गर्थे । सनराइज सहकारीकी एक किशोरी दैनिक बचत संकलनका लागि उनीहरुको पसलमा पुग्थिन् । दैनिक १ सय ३० रूपैयाँ जम्मा गरिएको थियो । अलि पैसा हुँदा २ सय ६० पनि जम्मा गर्थे ।

सँगै अर्को पनि बचत खाता थियो, जसमा हुँदा २ सय नहुँदा १ सय रूपैयाँ जम्मा गर्ने गर्थे । ०७४ सालबाट उनीहरुले यस सहकारीमा कारोबार थालेका हुन् । बीच–बीचमा बचत फिर्ता पाएका पनि थिए, तर पछिल्लोपटक फिर्ता नपाएपछि उनीहरु सहकारीबाट पीडित बनेका छन् ।

‘धेरैथोरै गरेर जम्मा गरेको पैसा फिर्ता देऊ भन्दा पाएनौँ, इन्द्रबहादुरले भने, ‘मेरी बूढीले चिया बेचेर, जुठो गिलास माझेर जम्मा गरेको पैसा सहकारीले खाइदियो । सहकारीमा जम्मा गरेको पैसा फिर्ता हुन २ महिना बाँकी थियो । ०७९ माघमा फिर्ता पाउँथ्यौँ, तर सोही वर्ष कार्तिकबाट बचत लिन आउन छाडे ।’

नातिनी पढाउनका लागि दैनिक बचत गरेको बिना गुरूङ बताउँछिन् । चिया बेचेर गिलास माझेर जम्मा गरेको पैसा फिर्ता नपाउँदा आफूहरु पीडित बनेको उनको भनाइ छ ।

३ नम्बर वडा कार्यालयको आडमा ग्राहकको पर्खाइमा थिइन्, पुनम परियार । सानो टहरामा उनले फोटोकपी पसल राखेकी छन् । ‘फोटोकपी गरेर कति नै कमाइ हुन्छ र, तैपनि खाँचो पर्दा काम चलाउन हुन्छ भनेर बचत गर्ने गरेको थिएँ, अहिले सहकारी नै डुबेर हामीलाई समस्या भाको छ’, पुनमले भनिन् । वडामा आउने नागरिकले फोटोकपी गरेर जम्मा गरेको पैसाबाट १ लाख बढी बचत गरेको, तर अहिले आफूलाई दुःख पर्दा बचत फिर्ता नपाएको उनको गुनासो छ ।

सनराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ७ हजार ५ सय बचतकर्ता समस्यामा छन् । इन्द्रबहादुर र पुनमहरु पीडित प्रतिनिधि पात्र हुन् । डेढ वर्षदेखि उनीहरु सहकारीले बचत फिर्ता गर्छ कि भन्ने आशामा छन् । तर, जति समय धकेलियो उति अन्योल भएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रन थालेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय तथा सहकारी डिभिजन कार्यालयमा निवेदनसमेत दिएका छन् । यो आन्दोलनको संयोजन गरिरहेका व्यवसायी नवराज लामिछानेले दैनिक गुजारा चलाउन हम्मेहम्मे परेकाहरुले पनि बचत गरेमा भविष्यमा केही होला भनेर बचत गरेको, तर सहकारीका सञ्चालकले गलत ठाउँमा लगानी गर्दा समस्या भएको बताए ।

‘बचतकर्ताको पैसामा चैन गरे, आफूलाई मन लागेको मानिसलाई बिनाधितो, कम धितोमा पनि पैसा दिए, बचतको लगानी आफ्नो आवश्यकताअनुसार गरे’, संयोजक लामिछानेले भने, ‘९० करोडको कुनै हिसाबकिताब छैन ।’ दिपेन्द्र अधिकारी/ चितवन पोष्ट