आपसी सहमतिबाट टुङ्गियो बैंकिङ कसुरका मुद्दा

भरतपुर, १३ श्रावण । चितवन जिल्ला प्रहरी कार्यालयमा दर्ता गरी चलाएका बैंकिङ कसुरका ६२ वटा मुद्दा पीडित र पीडकबीचको आपसी सहमतिबाट टुङ्गिएको छ । चितवन प्रहरीले हालसम्म २१६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता गरेको छ । बैंकिङ कसुरका सरदर २८ प्रतिशत मुद्दा अदालती प्रक्रियामा नगई बीचमै टुङ्गिएको हो ।

मुद्दा चल्दाका बखत पेस भएका प्रमाण पुगेका दाबी रकम पीडितले पीडकबाट भराइ पाएँ भनी कागज गर्नुका साथै लेनदेन कारोबार भएको स्पष्ट प्रमाणपछि मुद्दा प्रक्रिया अदालतमा नलैजाने गरी टुङ्ग्याउने गरिएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

कारोबार रकम पीडकले स्वीकार गरेको अवस्थामा र स्वीकार गरेको रकम पीडितलाई भुक्तानी गर्न राजी भई कामसमेत फत्ते गरेको अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा अघि नबढ्ने भनी निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको छ ।

सरकारी वकिलको कार्यालय चितवनका प्रमुख जिल्ला न्यायाधिवक्ता योगनाथ ढकालले कारोबार मिलेको प्रमाण पुगेको खण्डमा मुद्दा नचल्ने निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा सिफारिसका साथ पठाउने गरिएको बताए ।

‘पीडित र पीडकबीच लेनदेन व्यवहार मिलेको भनी दुवै पक्षले स्वीकार गरेको र कागजी प्रमाणहरु समेत जुटेको अवस्थामा अदालतमा लैजानुपर्छ भन्ने छैन, महान्यायाधिवक्ता कार्यालयबाट निर्णय गराई किनारा लगाउन सकिन्छ’, ढकालले भने ।

प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चल्ने स्थिति भएपछि केही व्यक्तिहरुले कसुर स्वीकार गरी रकम फिर्ता गर्ने गरेको प्रवक्ता पण्डितको भनाइ छ । उनका अनुसार चितवन प्रहरीले हालसम्म २१६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता गरेको छ । गत मंसिरदेखि असार मसान्तसम्म ७ सय ८३ उजुरी परेका थिए । यो साउन महिनाको हालसम्म ४४ वटा उजुरी प्रहरीकोमा परिसकेको छ । चितवन अदालतमा १० वटा मुद्दा दर्ता भइसकेको छ । अन्य प्रकृतिको मुद्दाको तुलनामा बैंकिङ कसुरका मुद्दा बढी रहेको प्रहरीले बताएको छ ।

यसअघि यस्तो मुद्दा चितवन प्रहरीमा दर्ता भई उच्च अदालत हेटौँडाले हेर्दै आएको थियो । असार ६ गते मन्त्रिपरिषद्को निर्णयले बैंकिङ कसुर र विद्युतीय कारोबार ९साइबर अपराध०सम्बन्धी मुद्दा जिल्ला अदालतले हेर्ने भनी निर्णय भएको थियो ।

सोहीबमोजिम असार ११ गते निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो । ‘बैंकिङ कसुर आकर्षित हुने जाहेरी लिएर सेवाग्राही दैनिक हामीकहाँ आउँछन्, जाहेरी लिएपछि बैंकबाट आवश्यक कागजात मगाई फाइल तयार गरेर अदालतमा मुद्दा दर्ता गराउने गरेका छौँ’, डिएसपी पण्डितले भने । बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएपछि चितवन प्रहरीले २ वर्षअघि छुट्टै फाँट नै खडा गरेको छ । चितवन पोष्ट