रामवेल सामुदायिक वनभित्र गैँडाको मूर्ति बनाउने काम अलपत्र

भरतपुर, १३ श्रावण । भरतपुर–१२ स्थित रामवेल सामुदायिक वनभित्र राइनो चिल्ड्रेन पार्कमा विशाल गैँडाको मूर्ति बनाउने काम अलपत्र अवस्थामा छ ।

बागमती प्रदेशका पूर्वसांसद् विजय सुवेदीले सांसद् विकास कोषबाट गैँडाको मूर्ति बनाउन बजेट दिएका थिए । सुवेदीको कार्यकाल सकिएपछि मूर्ति बनाउने काम अघि बढ्न सकेको छैन । गैँडाको मूर्ति बनाउने जिम्मा मूर्तिकार सूर्य मध्यरातलाई दिइएको थियो ।

नयाँ जनप्रतिनिधिले चासो नदिएकाले मूर्तिको काम अघि बढ्न नसकेको उनी बताउँछन् । पूर्वसांसद् सुवेदीको परिकल्पनाअनुसार मूर्तिको डिजाइन उनले गरेका थिए । सोही डिजाइनअनुसार मूर्तिको वेस पनि भएको छ । ‘ठूलो मूर्ति बनाउन पहिला सानो मोडलको मूर्ति पनि बनाउनुपर्छ । त्यसको मोडल पनि तयार भइसकेको छ’, उनले भने, ‘मूर्तिको प्राविधिक कुरा नेता र इन्जिनियरलाई बुझाउन पनि सकिएन । मोडल बनाएको खर्च मैले पाउनुपर्ने थियो, अहिलेसम्म पाएको छैन ।’

मोडल बनाउन लागेको करिब डेढ लाख रूपैयाँ आफूले नपाएको उनले बताए । पार्कमा बनाउन लागेको गैँडाको मूर्तिको मोडल बनाइएको उनले बताए । १२ बिघाको पार्कमा ३५ फिट लम्बाइ र २२ फिट उचाइको गैँडाको मूर्ति बनाउने भनिएकामा अहिले मूर्तिको काम अलपत्र परेको हो । मूर्तिको फाउन्डेसन गरेपछि काम रोकिएको हो । फाउन्डेसनमा राखिएका फलामका डन्डीमा खिया लागेर बिग्रिन लागेका छन् ।

दुई वर्ष लाग्ने कामलाई दुई महिनामा सक्न भनिएपछि काम पूरा हुन नपाएको उनी बताउँछन् । ‘गैँडाको मूर्तिभित्र सङ्ग्रहालय बनाउने गरी काम भएको थियो । फाउन्डेसन बनेर काम रोकिएको दुई वर्ष भइसक्यो’, उनी भन्छन्, ‘प्रदेश र स्थानीय जनप्रतिनिधि पनि नयाँ आइसक्नुभएको छ । मूर्तिलाई कसले अगाडि बढाउने हो भन्ने थाहा पाएको छैन ।’

मूर्ति बनाउन छुट्टयाइएको बजेट प्रदेशले फागुनमा मात्रै निकासा गरेपछि काम गर्न ढिला भएको पूर्वसांसद् सुवेदीले बताए । मूर्ति सम्पन्न हुन कम्तीमा ४० लाख रूपैयाँ लाग्ने अनुमान थियो । काम सुरू गर्न सांसद् विकास कोषको १८ लाख रूपैयाँ सुवेदीले मूर्तिमा हालेका थिए । ‘चरिरहेको जस्तो देखिने गैँडाको मूर्तिभित्र ठूलो कोठा हुन्छ । त्यहाँ गैँडासम्बन्धी विभिन्न सामग्री राखेर सङ्ग्रहालयजस्तो बनाउने परिकल्पना थियो’, उनी भन्छन्, ‘त्यसको गुरूयोजना पनि बनेको छ ।’

राइनो चिल्ड्रेन पार्कमा कम्पाउन्ड गर्न, शौचालय र गेट बनाउन आफ्नो पहलमा प्रदेश सरकारको बजेट ल्याएको उनले बताए । भरतपुर अस्पतालअगाडि र राइनो पार्कमा शौचालय बनाउन करिब ६० लाख रूपैयाँ खर्च लागेको छ । त्यसमा भरतपुर महानगरको बजेटको पनि केही हिस्सा छ । पार्कभित्र बनाइएको पैदलमार्गमा टायल प्रयोग गर्नु गलत भएको उनले बताए । ‘जंगलभित्र पर्ने पार्कमा पैदलमार्ग प्राकृतिक खालको हुनुपथ्र्यो भन्ने हो । टायल हाल्ने पक्षमा म छैन’, उनले भने ।

यो वर्ष काम हुन्छ स् वडाध्यक्ष

गैँडाको मूर्ति बनाउन प्रदेश सरकारले यसवर्ष बजेट दिएको भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्तले बताए । राइनो मूर्तिका लागि पाँच लाख र राइनो चिल्ड्रेन पार्कका लागि भनेर दुई करोड रूपैयाँ बजेट प्रदेशले विनियोजन गरेको उनले बताए । ‘पूर्वसांसद् विजय सुवेदीको परिकल्पनामा मूर्ति बनाउन लागिएको हो । पार्क र मूर्तिका लागि यसवर्ष दुई करोड पाँच लाख बजेट परेको छ’, उनले भने ।

नगरस्तरीय योजनाको १७ लाख रूपैयाँबाट पार्कमा टायल हालिएको उनले बताए । त्यस्तै, महानगरको पाँच लाख रूपैयाँले माटो भर्ने तथा गार्डेन बनाउने र वडाको साढे दुई लाख रूपैयाँले पानीको ट्याङ्की र धारा बनाउने काम सम्पन्न भएको उनको भनाइ छ । पूर्वप्रदेश सांसद् पार्वती सिलवालले सांसद् विकास कोषबाट हालेको १५ लाखले पिकनिक स्पटमा ट्रस र प्रदेशको १० लाख रूपैयाँबाट गेट बनाउने काम भइरहेको उनले बताए । चितवन पोष्ट