मदनडाँगी–ताराबारी डिपु सडक निर्माण गरिँदै

दमक, १३  श्रावण । झापाको दमक नगरपालिकाअन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माण थालिएको छ । दमक–१ र ५ वडा हुँदै दमक–४ को ताराबारी डिपुसम्मको सो सडकको शिलान्यास गरिएको छ ।
विश्व बैंकको सहयोगमा बन्न लागेको उक्त चार लेन सडकको नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले तोकिएको समयमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।
नगरउपप्रमुख भट्टराईले सडक निर्माणका लागि रेखदेख समितिले निरन्तर काम गर्ने र कुनै गुनासो भए गुनासो सुनुवाइ समितिले सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।
सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गरिएको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ । पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि रु ४४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिनुभयो । सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको हो । विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । रासस