छोरी र भतिजी बलात्कार गर्ने दुई पक्राउ

धादिङ, १५ श्रावण । आफ्नो संरक्षणमा रहेकी १७ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा धादिङमा ३६ वर्षीय एक पुरूष पक्राउ परेका छन् । आरोपित पुरूषलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई प्रहरीले आइतबार हाडनाता जबर्जस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान सुरू गरेको छ ।

श्रीमतीको हत्या गरेपछि बालिकाको बाबु जेलमा रहेका छन् । चार वर्षदेखि काकाको संरक्षणमा रहँदै आएकी बालिकामाथि पटकपटक बलात्कार हुँदै आएको र पछिल्लोपटक २०८० साउन १ गते घरमै काकाबाट बलात्कृत भएको भन्दै पीडित बालिकाले प्रहरीमा उजुरी दर्ता गरेपछि अनुसन्धानका लागि आरोपित पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परीक्षण गरिएको थियो । पीडितलाई मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएको र निजले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई शनिबार पक्राउ गरी हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको छ ।

दुई दिनअघिमात्रै आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा दाङका एक पुरूषलाई धादिङ प्रहरीले पक्राउ गरेको थियो ।

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर–१, जीवनपुरस्थित इँटा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म मजदुरी गर्ने क्रममा एउटै कोठामा बस्ने बाबुले छोरीलाई पटकपटक जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

आफ्नै १७ वर्षीया छोरीमाथि पटकपटक जबर्जस्ती करणी गर्दा पेटमा बच्चासमेत बसेपछि बाबु फरार भएका थिए । आफ्नै बाबुको गर्भ बोक्नु परेपछि पीडित नावालिकाले न्याय खोज्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पटकपटक जबर्जस्ती करणी हुँदै आएकोमा अहिले नाबालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिर आएको हो । धादिङको इँटा उद्योगमा काम गर्दै आए पनि छोरी गर्भवती भएपछि बाबु भागेर दाङमा गई लुकीछिपी बस्दै आइरहेको खबर पाएपछि प्रहरीले उनको खोजी गर्दै पक्राउ गरेको हो ।

पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकोले पक्राउ परेका पुरूषलाई हाडनाता जबर्जस्ती कसुरमा धादिङ अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । CP