माइती नेपालले मनायो विश्व मानव बेचबिखन नियन्त्रण दिवस

भरतपुर, १६ श्रावण । माइती नेपाल चितवनले विश्व मानव बेचबिखन नियन्त्रण दिवस मनाएको छ । भरतपुरमा रहेको मिलेनियम मोडल कलेजमा सचेतनामूलक कार्यक्रम गरेर दिवस मनाएको हो । माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीका अनुसार यसवर्ष ‘रिच एभ्री भिक्टिम अफ ह्युमन ट्राफिकिङ, लिभ नो वान बिहाइन्ड’ भन्ने अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइएको हो ।

विश्वको वर्तमान मानव बेचबिखनको अवस्था र यसको निराकरण गर्नका लागि प्रत्येक व्यक्ति र संस्थाको भूमिका अपरिहार्य रहेको कार्यक्रम संयोजक गिरीले बताए । ‘मानव बेचबिखनमा परेका र पर्न सक्ने जोखिममा रहेका तथा फसेकाहरुका लागि न्याय दिलाउन सबै संघसंस्था र व्यक्तिहरुको प्रयास आवश्यक छ’, उनले भने, ‘त्यसैले आवाजविहीनहरुको आवाज बन्न सबै लागेर उद्धार, संरक्षण र कानुनी उपचार दिलाउन आवश्यक छ ।’

मिलेनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डितले माइती नेपालको सचेतनामूलक कार्यक्रमले मानव बेचबिखनको वर्तमान अवस्थाबारे विद्यार्थीले जान्नैपर्ने र बुझ्नैपर्ने विषय भएकाले अति सान्दर्भिक रहेको बताए । सामाजिक कार्यबारे स्नातक अध्ययन गरिरहेका विद्यार्थीले यो कार्यबाट समाजका संघसंस्थाहरुले जनताका पक्षमा काम गरिरहेका छन् भन्ने ज्ञान हासिल गर्नसमेत सहज भएको उनले बताए ।

कार्यक्रममा आफन्त नेपाल, चेली नेपाल, हाम्रो भरोसा नेपाल, आशिष नेपाल, सामरी उत्थान सेवा समाजलगायतका संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो ।