भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन

भरतपुर, १६ श्रावण । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यमा नरिनारायण पौडेल, नरेन्द्रकुमार कन्दङ्वा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिलेका जनप्रतिनिधिलाई आफ्नो कार्यकालको अनुभव बाँड्नका लागि पनि मञ्चले सहयोग पुर्याउने बताउनुभयो ।

“मञ्च गठनपछि महानगरपालिकासँग छुटेको सम्बन्ध फेरि जोडिनेछ”, सचिव पदमपाणि सुवेदीले भन्नुभयो, “हाम्रो सक्रियता फेरि बढ्नेछ ।” उहाँले यो समितिलाई निरन्तरता दिइने भन्दै वर्तमान जनप्रतिनिधि पनि निवर्तमान भएपछि मञ्चमा आबद्ध भएर काम गर्ने बताउनुभयो । भरतपुरका सबै वडाको समानुपातिक विकासका लागि महानगरपालिका र वर्तमान जनप्रतिनिधिसँग छलफलसमेत गरिने सुवेदीले बताउनुभयो । पूर्वजनप्रतिनिधिको मञ्च सबै वैचारिक एकताको मञ्चसमेत भएको उहाँको भनाइ छ ।

महानगरपालिका भएपछिको पहिलो कार्यकाल सफल रहेको मञ्चका सहसंयोजक चन्द्रमित्र पण्डितले बताउनुभयो । उहाँले आफूहरूको कार्यकालमा महानगरका एक सय ३४ कार्यविधि बनाएको जनाउँदै त्यही कार्यविधिअनुसार अहिले वडा सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीको समेत उपस्थिति थियो ।

ताजा समाचार