भरतपुर, १६ श्रावण । गत असार मसान्तसम्म चितवनमा एक सय ७८ गाई मरेकोमा साउन १४ गतेसम्म दुई सय ८७ पुगेको छ । चौध दिनको फरकमा एक सय नौवटा गाई मरेका छन् । असार अन्तिम हप्ता नियन्त्रणउन्मुख रहेको लम्पी स्किन रोग पुनः बल्झिन थालेको तथ्याङ्कले देखाएको छ ।
११ हजार एक सय ८५ गाईभैँसी सङ्क्रमित छन् । जसमा तीन सय ३६ भैँसी र १० हजार आठ सय ४९ गाई रहेका छन् । हालसम्म १८ हजार पाँच सय ९० गाईभैँसीमा खोप लगाइएको छ । गाईभैँसी दुई लाखजति रहेको तथ्याङ्क कार्यालयसँग छ ।
मृत्यु भएकामध्ये पाँच वटाको मात्रै बिमा भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । सबै बीमित भरतपुर महानगरका मात्र छन् ।
जेठ २३ गतेसम्म चितवनमा जम्मा ८४ वटा गाईगोरू र भैँसी मरेका थिए । तर, असार ११ गतेसम्म २० दिनको अन्तरालमा लम्पी स्किनबाट हुने मृत्यु र सङ्क्रमण दर दुवै दोब्बरले बढेको थियो । असार ११ गतेसम्म एक सय ७६ वटा गाइगोरू र भैँसी मरेको तथ्याङ्क पशु कार्यालयसँग रहेको थियो । तर, असार मसान्तसम्म थप दुईवटा मात्र ९१७८० गाई मरेको वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिए । २० दिनको अन्तरालमा जम्मा दुईवटामात्रै गाई मरेको हो ।
चितवनका सातवटै स्थानीय तहमा अहिले गाईगोरू र केही भैँसीमा समेत लम्पी स्किन रोगको प्रकोप छ । यसअघि सबैभन्दा बढी मृत्यु इच्छाकामनामा ६६ वटा रहेकोमा अहिले भरतपुर महानगर क्षेत्रमा यसको असर बढी छ । महानगरमा ७४ वटा गाई मरेका छन् । इच्छाकामनामा एक हजार चार सय २३ सङ्क्रमित छन् । भरतपुरमा दुई हजार पाँच सय ५६ गाईभैँसी सङ्क्रमित छन् ।
राप्ती नगरपालिकामा दुई हजार १० गाईभैँसी सङ्क्रमित भएकोमा ६२ वटाको मृत्यु भएको छ । कालिका नगरपालिकामा एक हजार आठ सय ७२ गाईभैँसी सङ्क्रमित भएकोमा २५ वटाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिकामा एक हजार एक सय ८३ सङ्क्रमित भएकोमा १० वटाको मृत्यु भएको छ । रत्ननगरमा छ सय २६ गाईभैँसी सङ्क्रमित भएकोमा ३८ वटा मरेका छन् । माडी नगरपालिकामा एक हजार पाँच सय १५ वटा सङ्क्रमित भएकोमा १२ वटा गाईभैँसी मरेका छन् ।
लम्पी स्किन रोगको मुख्य लक्षणहरुमा घाँटी, पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागहरुमा साना–ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो आउने, कचेरा, सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपना हुनेजस्ता समस्या देखा पर्ने प्राविधिकको भनाइ छ ।
यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्दछ । यसबाहेक सङ्क्रमित गाईभैँसीको लसपस र ओसारपसार, सङ्क्रमित र स्वस्थ गाईभैँसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र सङ्क्रमित गाईभैँसीबाट जन्मेका वच्चामा पनि यो रोग देखा पर्छ ।
पशुपक्षी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाले लम्पी स्किन रोगविरूद्ध प्रयोग हुने एन्टिबायोटिक अभाव रहेको बताए । रोग नियन्त्रणका लागि खोपको व्यवस्था भए पनि त्यो हरेक किसान तथा व्यवसायीकहाँ पुग्न नसकेको अध्यक्ष सापकोटाले बताए । प्रदेश सरकारले केही दिनअघि आठ लाख रूपैयाँ खोप खरिदका लागि पठाएको थियो । तर, प्राविधिकहरु भने चितवनमा दुई करोड रूपैयाँसम्म आवश्यक पर्ने बताउँछन् ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन चितवनले ६ बुँदे माग राखेर प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापन पत्र बुझाएको थियो । चितवन पोष्ट