रविले सुरु गरेको ‘ब्लु बस’ कुन–कुन रुटमा चल्छ ? (ठाउँको नामसहित)

चितवन, १८ श्रावण । चितवन क्षेत्र नं २ को उपनिर्वाचनबाट निर्वाचित भएको १०० दिन पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजोदेखि ‘ब्लु बस’ सञ्चालनमा ल्याए । महिलाहरुका लागि मात्रै भनेर लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन् । मासिक एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर ल्याइएको बस लामिछानेको निर्वाचन क्षेत्र (कालिका र भरतपुर) मा मात्रै चल्ने छ ।

रास्वपाको ब्राण्डिङ कलर निलो भएकाले बसमा पनि निलो कलर लगाइएको लामिछानेले बताए । बस भाडा तिर्ने स्रोतबारे भने उनले खुलाएका छैनन् । निःशुल्क बस प्रयोग गर्न महिलाहरुलाई कार्ड दिइएको छ । उक्त कार्ड मेशिनले स्क्यान गरेपछि मात्रै महिलाहरु बसभित्र पस्न पाउँछन् । सार्वजनिक यातायातमा महिलाहरुलाई धेरै समस्या हुने भएकाले महिलालाई मात्रै भनेर निःशुल्क बस ल्याएको उनी बताउँछन् ।

यो बस भरतपुर अस्पताल केन्द्रित भएर चल्ने लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले बताए । महिलाहरुलाई उपचारका लागि अस्पतालमा आउन सहज होस् भनेर अस्पताल केन्द्रित गरिएको उनी बताउँछन् । उनका अनुसार बिहान ७ बजे शक्तिखोरबाट बस छुट्छ । पहाडी इलाकाबाट चेपाङ समुदायका महिला तल झर्न समय लाग्ने भएकाले केहि ढिलागरी बस छुट्ने उनले बताए ।

शक्तिखोरबाट छुटेको बस जुटपानी–क्लब चोक–पदमपुर हुँदै भोजाड निस्किएर विशाल चोक–राजस्व कार्यालयबाट घुमेर भरतपुर अस्पताल गेट हुँदै चौविसकोठी पुग्ने छ । त्यसपछि बसले एक पटक रिङ रोड घुम्ने उनले बताए । आँपटारीबाट देवघाट हुँदै भित्रि बाटो भएर ठिमुरा निस्किने बस रामनगर–आँपटारी–बाइपास रोड–अस्पताल रोड हुँदै पुलचोक पुग्छ । पुलचोकबाट बस शिवघाट–जेम्स वल्र्ड फनपार्क हुँदै धर्मचोक–चौविसकोठी–अस्पताल रोड हुँदै भरतपुर अस्पताल पुग्ने उनले जानकारी दिए ।

त्यहाँबाट जिल्ला समन्वय समितिको कार्यालय हुँदै हाकिमचोक निस्किने बस केन्द्रिय बसपार्क चोक पुग्छ । त्यसपछि मालपोत चोक आएर अस्पताल आसपासका महिला चढेपछि विशालचोक–पदमपुर–खोलेसिमल–क्लब चोक–जुटपानी हुँदै शक्तिखोर पुगेर बस रोकिने सिग्देलले बताए ।

लोकेशन अनुसार बसले विभिन्न ठाउँको नाम बताउने छ । बसमा जिपिएस जडान गरिएको सिग्देलले बताए । ‘अब कुन ठाउँ आउँछ भनेर पनि सिस्टमले नै बताउने छ । त्यो रवि सरकै आवाजमा हुन्छ’, उनले भने, ‘आवश्यकता अनुसार महिलाहरुलाई जति पनि कार्ड बाँड्न सकिन्छ ।’