चितवन, १९ श्रावण । भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार रानाका श्रीमान श्रीमतिसहितको टोली चीन भ्रमणमा छ । साउन १६ गते चीन गएको भ्रमण टोलीमा मेयर दाहालका सल्लाहकार सुरेशचन्द्र अधिकारी र इन्जिनियर साकार लामा पनि सहभागी छन् ।
भरतपुर महानगरको कार्यवहाक मेयरको जिम्मेवारी २६ नम्बर वडाका वडाध्यक्ष ज्ञानप्रसाद खनालले पाएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारका लागि टोली चीन गएको बुझिएको छ । एक साताको लागि भ्रमण टोली चीन गएको उपमेयरका सल्लाहकार आशिष अधिकारीले जानकारी दिए ।
भरतपुर महानगरपालिका र चीनको सिगात्से सिटीबीच मंगलबार दुई पक्षिय हितमा काम गर्ने सहमति पनि भएको छ । तिब्बत प्रान्तको दोस्रो ठूलोे हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरको प्रतिनिधि मण्डल बीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबीच सहमती भएको हो । रासस