शारदानगर स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न माग

शारदानगर, २० श्रावण । कोरोनाकालमा भरतपुर महानगरपालिकाले १५ शय्याको आइसोलेसन निर्माण गरेको शारदानगर स्वास्थ्यकेन्द्रलाई स्तरोन्नति गर्नुपर्ने माग दिन प्रतिदिन बढ्दै गएको छ ।

भरतपुरमा रहेको केन्द्रीय हस्पिटलमा अत्यधिक भीडभाडका कारण सेवाग्राहीले सास्ती पाइरहेको बेलामा चर्चा चलिरहँदा यो स्वास्थ्यकेन्द्रलाई हस्पिटल बनाउनुपर्ने स्थानीयवासीको माग रहेको हो ।

भरतपुर महानगरपालिका–१९ निवासी नारायणप्रसाद कोइरालाले शारदानगर स्वास्थ्यकेन्द्रलाई स्तरोन्नति गरेर कम्तीमा पनि २५्र शय्याको बनाउनुपर्ने बताए । कोइरालाले भने, ‘भरतपुर–१७, १८, १९, २०, २१, २६ का लागि सेवा प्रदान गरिरहेको यो स्वास्थ्यचौकी पश्चिम चितवनकै मध्य भागमा पर्ने र चारैतिरका सेवाग्राहीहरुलाई पायक पर्ने हुँदा स्तरोन्नतिको विकल्प छैन ।’

हरेक स्थानीय तहमा १ अस्पताल बनाउने नीतिअनुसार महानगरले जग्गा पर्याप्त भएको र पश्चिम चितवनको केन्द्रभागमा रहेको भन्दै शारदानगरलाई नै अस्पताल बनाउन सिफारिस गर्ने निर्णय हुँदा अस्पताल बन्ने वातावरण बनेकोमा आशावादी बनेको शारदानगर स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङले बताउनु भयो।

विसं २०७० सालदेखि अस्पताल बन्ने चर्चामा रहे पनि स्वास्थ्य मन्त्रालयले स्वीकृति नदिँदा स्तरोन्नति हुन नसकेको हो । भरतपुर महानगरको नगर कार्यपालिकाको ३४औँ बैठकले १५ शय्याको अस्पतालका रुपमा ‘अपग्रेड’ गर्न अनुरोध गरी पठाउने निर्णय गरेको थियो । हाद स्वास्थ्यचौकीले आन्तरिक स्रोतबाट प्रयोगशाला चलाइरहेको छ ।

उक्त स्वास्थ्यचौकीले पश्चिम चितवनका स्थानीयलाई सेवा पु¥याइरहेको वडाध्यक्ष तामाङले बताए । वडावासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै आएको भन्दै विशेषगरी गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्दै आएको उनको भनाइ छ । स्वास्थ्यचौकीलाई २५ शय्याको अस्पताल बनाउनका निम्ति पहल भैरहेको उहाले बताउनु भयो ।

महानगरपालिका बनिसकेपछि भरतपुर अस्पतालमात्रै पर्याप्त नहुने हुँदा पश्चिम क्षेत्रको मध्य भागमा पर्ने र सबैलाई सुविधा हुने शारदानगरमा अस्पताल बनाउनुपर्ने माग उठेको उहा बताउँनु हुन्छ । ‘केही वर्षमा अस्पताल हुने विश्वास गरेका छौँ’, उहाले भन्नुभयो ।

दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन चितवन ४ नम्बर क्षेत्रबाट चुनाव जितेका स्व। सुशील कोइराला प्रधानमन्त्रीसमेत बने । तर, चुनावका बेला २५ शय्याको अस्पताल बनाउने प्रतिबद्धता गरेका उनले स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न सकेनन् । त्यसपछि २०७३ चैतमा तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापालाई शारदानगर स्वास्थ्यचौकी २५ शय्याको हुने गरी स्तरवृद्धि गर्न माग गर्दै स्थानीयले गठन गरेको प्रतिनिधिमण्डलले ज्ञापन पत्र बुझायो ।

तत्कालीन स्वास्थ्यमन्त्री थापाले अस्पताल हुने गरी स्तरवृद्धि गर्ने आश्वासन मात्र दिए । स्वास्थ्यचौकीले पटकपटक अस्पतालको माग गर्दै मन्त्रालय तहसम्म फाइल बुझायो । तर, प्रगति नभएको उहाले बताउनु भयो । स्वास्थ्यचौकी मातहतमा करिब ६ विघा जग्गा छ । ‘ठूलो अस्पताल बनाउन पुग्ने र पूर्वाधारहरु बनाउन सकिने जग्गा छ’, उहाले भन्नुभयो, ‘बेलाबखत लबिङ भइरहेको छ, तर आशा मरेको छैन ।’

पश्चिम चितवनमा पनि सेवा आवश्यक देखिएको भन्दै शारदानगर माविको एक कोठाबाट सुरू भएको शारदानगर प्राथमिक स्वास्थ्यकेन्द्र सुरू भयो । पछि गाउँपञ्चायतले जग्गा उपलब्ध गराएपछि शारदानगर स्वास्थ्यचौकी बन्यो । यो भरतपुर महानगरको सबैभन्दा पुरानो स्वास्थ्यचौकी हो ।

शारदानगर स्वास्थ्यचौकीका इन्चार्ज बद्रिप्रसाद खकुरेल स्वास्थ्यकेन्द्रमा केही प्रगति नभएको बताउँनु हुन्छ । ‘बिरामीको चाप बढ्दो छ, भित्री बस्तीबाट समेत सेवा लिन आउने केन्द्रका रुपमा चिनिएको छ’, उहाले भन्नुभयो, ‘अस्पतालका रुपमा स्वीकृति पाउने पखाईमा छौँ ।’

स्वास्थ्यचौकीमा ४ भवनहरु छन् । त्यहाँ पुरानो भवन, तालिम भवन, स्वास्थ्यचौकी भवन र आवासीय भवन छन् । हालको स्वास्थ्यचौकीबाट दैनिक १०० जनाले सेवा लिँदै आएका छन् । २४ सै घन्टा प्रसूति सेवा, बर्थिङ सेन्टर, प्रयोगशालालगायतका सेवा सञ्चालनमा छन् । चितवन पोष्ट