चितवनमा आँखाको सङ्क्रमण तीव्र : बालबालिका बढी प्रभावित, विद्यालय नै बन्द

भरतपुर, २० श्रावण । भरतपुर आँखा अस्पतालमा गत आइतबार जति बिरामी आएका थिए त्यसको छ गुणा बढी बिहीबार आए । अस्पतालकी नेत्ररोग विशेषज्ञ डा। कुमुदिनी सुवेदीले भनिन्, ‘अस्पताल आएका ८० प्रतिशत बालबालिकामा कन्जक्टिवाइटिस सङ्क्रमण छ ।’ शुक्रबार यस अस्पतालमा सात सय ६८ जनाले उपचार लिएका छन् । दैनिकरुपमा यकिन तथ्याङ्क तयारी अवस्थामा नरहे पनि यस रोगका बिरामी ह्वात्तै बढेको अस्पताल प्रशासनको भनाइ छ ।

बालबालिकासम्बन्धी ओपिडीमा दुई सय जनामध्ये असी प्रतिशतमा यो समस्या देखिएको अस्पतालले जनाएको छ । त्यस्तै, सामान्य ओपिडीमा आउने ६० प्रतिशतजतिमा यो रोग छ । रोग फैलिँदो क्रममा रहेकाले अस्पतालले अप्रेसन पनि गर्ने कि नगर्ने भनी छलफल चलाइरहेको छ । ‘आएका अधिकांश बिरामीमा सङ्क्रमण छ, अप्रेसन गर्ने भनिएका बिरामी पनि यो रोगबाट पीडित छन्’, डा। सुवेदीले भनिन्, ‘यो रोग देखिएपछि अप्रेसन गर्ने कुरै भएन, त्यसैले अब उपचारमा एउटा योजना नै बनाएर अघि बढ्ने तयारीमा छौँ ।’

आँखा रातो हुने, आँसु आइरहने, आँखा पोल्ने, कचेरा आउने, बिहानी उठ्दा आँखाको ढकनी पूरै टाँसिने, घाममा हेर्न गाह्रो हुने यसका लक्षणहरु हुन् ।

बढीजसो स्कुलमा बालबालिकाबीच यो रोग तीव्ररुपले फैलिएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले रोग फैलिएको चिकित्सकहरुको भनाइ छ । ‘धेरै भीड हुने स्थानमा नजानका लागि हाम्रो सुझाव छ’, डा। सुवेदीले भन्नु भयो, ‘व्यक्तिगत सरसफाइमा ध्यान दिएमा सङ्क्रमणबाट बच्न सकिन्छ ।’

नियमित हात धुने, सङ्क्रमण भएका व्यक्तिले प्रयोग गर्ने सामान अरुले प्रयोग नगर्नेजस्ता कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ । आँखा संवेदनशील अङ्ग भएकाले यसको उपचारका लागि विशेषज्ञ चिकित्सक कहाँ नै जानु ठीक हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । ‘जथाभावी औषधि प्रयोग गर्दा आँखामा अर्को गम्भीर समस्या देखिन सक्छ, त्यसैले नेत्र विशेषज्ञकहाँ नै देखाउनु उपयुक्त हुन्छ’, डा। सुवेदीले भन्नु भयो।

भरतपुर अस्पतालले साउन १५ गते सूचना निकालेको छ । अहिले कन्जक्टिवाइटिस रोग बढेकाले सचेत हुन भन्दै अस्पतालले केही भएमा आँखाकै चिकित्सकलाई देखाउन भनेको छ ।

दुई दिन विद्यालय बन्द

यसैबीच विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए । सामुदायिक विद्यालयमा परीक्षा सकिएर वर्षे बिदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उहाले बताउनु भयो ।

बानियाका अनुसार अहिलेको बिदा विद्यालयले हिउँदे र बर्षे बिदाबाट कट्टा हुने गरी गरिएको मिलान गर्नुपर्ने छ । यस पालिकामा सामुदायिक विद्यालय २७, संस्थागत विद्यालय २२ र कलेज चार रहेका छन् । यहाँ १७ हजार पाँच सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्ग्टिवाइटिस’का कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिनु भयो । उनका अनुसार यो सङ्क्रमण पाँचदेखि सात दिनमा निको हुन्छ । चितवन पोष्ट