नारायणी इंग्लिस पब्लिक स्कुलको स्वास्थ्य जनचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न

भरतपुर, २१ श्रावण । बढ्दै गरेको डेंगु रोग नियन्त्रण गर्ने उद्देश्यले नारायणी इंग्लिस पब्लिक स्कुल भरतपुर–११ ले शनिबार डेंगु रोगको बारेमा स्वास्थ्य जनचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षता तथा भरतपुर महानगर स्वास्थ्य प्रवद्र्धन शाखा अधिकृत केशव भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आधारभूत तह प्रमुख शिक्षक सन्तोष रिमाल, विद्यालयका अन्य शिक्षक, शिक्षिकाहरु तथा स्काउटका विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

विद्यालयका शिक्षिका रमिता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा हाल फैलिरहेको डेंगु रोगको बारेमा प्रमुख अतिथि केशव भट्टले रोगका लक्षणहरु र यसलाई नियन्त्रण गर्ने उपायहरुको बारेमा मन्तव्य राखेका थिए ।

विद्यालयका स्काउटका विद्यार्थीहरुले घरदैलोसँगै जनसचेतना कार्यक्रममा पम्प्लेट वितरण गरी सहजीकरण गरेको विद्यालयका स्काउट शिक्षक नवीन बगाले जानकारी दिए ।