माओवादी केन्द्र एकढिक्का भएको छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ, २० श्रावण । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पार्टी एकढिक्का र भावनात्मक रुपले एकजुट भएको बताउनुभएको छ ।  आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एक ढिक्का भएको बताउनुभएको हो ।

उहाँले नेताहरु भावनात्मक रुपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताउनुभयो । उहाँले पार्टीले देशको नेतृत्व लिनेगरी अगाडी बढ्ने बताउनुभयो । उहाँले पार्टी बिधि, पद्धतीभन्दा बाहिर नजाने बताउनुभयो । उहाँले सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो बैठकबाट निक्लिदै गर्दा हामीले भन्न सक्छौँ, हामी एक ढिक्का भएका छौँ । हामी अब कुनैपनि खालको विधि, पद्धतीभन्दा बाहिर जाने छैनौँ ।

पार्टीको नेतृत्व अन्तर्गत मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर, जनतासँग सम्बन्ध कायम गरेर सरकारले थालेका सकारात्मक कामहरु जनतासँग स्थापित गरेर र यो परिवर्तनको स्वामित्व लिनेगरी, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभा, लगायतका परिवर्तनका स्वामित्व लिनेगरी जनतामा जान हामी सर्वसम्मत मात्रै भएका छैनौँ, विचार र राजनीतिमा मात्रै एक मत भएका छैनौँ, मेरो के विश्वास छ र म घोषणा गर्न सक्छु, आम नेपाली जनतालाई म भन्न चाहान्छु हामी सबैका निम्ति यो खुशी र गर्वको कुरा हो । हामी भावनात्मक रुपले पनि एकजुट भएका छौँ र अब माओवादी केन्द्र फेरी जाग्नेछ । माओवादीले देशको नेतृत्व लिनेगरी फेरी अगाडी बढ्ने छ ।’

अध्यक्ष दाहालले पार्टीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ३ महिना सञ्चालन गर्ने जानकारी दिदैँ आफु पनि सो अभियान अन्तर्गत ७ प्रदेशको ७ वटा वडामा पुग्ने बताउनुभयो । उहाँले सो अभियानका क्रममा माओवादी केन्द्रका शुभचिन्तकको मात्रै नभई सबै नेपाली जनताको घर–घरमा नेता, कार्यकर्ताहरु पुग्ने बताउनुभयो । उहाँले गाउँ–गाउँका एउटा पनि घर नबिराई जनताको घरमा पुग्न र जनताको कुरा सुन्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘आज बैठकको समापनतिर आउँदै गर्दा हामीले गर्वका साथ भन्न सक्ने भएका छौँ कि हामी एउटा नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भनेर वडा केन्द्रीत, सबै पार्टीका नेताहरु जनतासँग जोडिने, र जनताका समस्याहरुलाई समाधान गर्न नयाँ पहल लिने ।

६ हजार ७ सय भन्दा बढी वडाहरुमा केन्द्रीत भएर ३ महिने अभियान चलाउने सर्वसम्मत् निष्कर्षमा हामी पुगेका छौँ । म समेतको कार्य विभाजन भएको छ । म पनि सातवटा प्रदेशका ७ वटा वडामा गएर त्यहाँको जनताको भावना, समस्या बुझ्ने र सबै केन्द्रीय नेताहरु वडा केन्द्रीत भएर जनअभियान चलाउने निष्कर्षमा पुगेका छौँ । हामीले यो अभियान अन्र्तगत एउटा पनि जनताको घर नछोड्ने । खालि माओवादी केन्द्रका समर्थक, शुभचिन्तकको मात्रै होइन, कुनैपनि राजनीतिक आस्थासँग सम्बन्धित भएपनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले लिदै गरेको पहलको बारेमा, जनतालाई हामीले आउने दिनमा कसरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई अगाडी बढाउने हाम्रा योजनाहरु राख्ने, जनताका गुनासा, आलोचनाहरु सुन्ने, सहिद, बेपत्ता, घाइते परिवारसँग भेट्ने । एउटा घर पनि नछोड्ने ।

नेपाल राज्यभित्र भएका प्रत्येक घर, परिवार सँग सम्बन्ध गर्नेगरी तिन महिने अभियान चलाएर हामी विधान सम्मेलनमा आइपुग्ने निष्कर्षमा पुगेका छौँ ।’