नेपाललाई काडाद्वारा एन्टि डोपिङ सामग्रीको सहयोग

काठमाडौँ, २० श्रावण । कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा) ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ । डोपिङ कन्ट्रोल अफिसर्स (डिसिओ) को प्रशिक्षक प्रशिक्षणका क्रममा काडाले नेपाल ओलम्पिक कमिटीअन्तर्गतको मेडिकल कमिसनलाई १६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।

कमिटीको आयोजना तथा काडाको संयोजकत्वमा दुईदिने डिसिओ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको थियो । यो कार्यक्रमपछि अब नेपालमै डिसिओ उत्पादनका लागि प्रशिक्षणको कार्यक्रम संचालन गर्न सकिनेछ । समापन समारोहका क्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदलाई सफा राख्नुपर्नेमा जोड दिए । श्रेष्ठले नेपाली खेलकुदलाई प्रतिबन्धित शक्तिबर्धक औषधीको प्रयोगबाट जोगाउनु पर्नेमा जोड दिँदै यसको प्रयोग रोक्ने चुनौती रहेको पनि बताए ।

त्यस अवसरमा काडाका सिओओ मुङ सु किमले डिसिओ उत्पादन गर्ने जनशक्ति नेपालमै तयार भएकोमा खुसी व्यक्त गरे । यसअघि डिसिओ उत्पादनका लागि विदेश जानु पर्ने अथवा विदेशी प्रशिक्षक नेपाल आउनुपर्ने बाध्यता थियो ।