सुनसान चितवनका पसल

नारायणगढ, २२ श्रावण । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । भाडा तिर्नसमेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत छन् ।

“विगतमा यहाँका पसलमा जाँदा पसलेलाई बोल्ने फुर्सदै हुँदैन्थ्यो, प्रायः पसले व्यापार गर्नको हतारमै हुनुहुन्थ्यो”, कपडा व्यवसायी सङ्घ चितवनका कार्यालय सचिव वासु दवाडीले भन्नुभयो, “हिजोआज जुन कपडा पसलमा गए पनि सुनसान छन् ।”

दवाडीले सङ्घको कार्यालय सचिवको जिम्मेवारी बहन गर्नुका साथै नारायणढका केही कपडा पसलको लेखापालको समेत काम गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जुनसुकै समयमा पनि ग्राहककोे भीड हुन्थ्यो, कपडा किन्न आउनेहरु पसलमा टुट्दैनथे, तर हिजोआज जताततै सुनसान छ ।” उहाँले पहिला दैनिक हिसाब राख्ने पसलले पछिल्लो समय दुई चार दिन बिराएर हिसाब राख्न बोलाउने गरेको उहाँको अनुभव छ ।

कपडा व्यवसायी सङ्घका अध्यक्ष गुणराज पौडेल आफूले व्यापार सुरु गरेको २० वर्षमा यस वर्षजस्तो मन्दि कुनै वर्ष पनि नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्घमा एक सयभन्दा बढी व्यवसायी आवद्घ हुनुहुन्छ, सबैको हालत उस्तै छ, कसैको पनि व्यापार छैन ।” आम उपभोक्तामा क्रयशक्ति घट्नु, जग्गाको कारोबार नहुनु र कोभिडको असर हाल आएर देखापर्नुले गर्दा यस्तो भएको उहाँकोे बुझाइ छ ।

विगतका वर्षमा यही समयमा दैनिक रु एक लाख ५० हजारभन्दा बढीको व्यापार हुने कपडा पसलमा अहिले ७५ प्रतिशतले गिरावट आएको अध्यक्ष पौडेलको भनाइ छ । “बजार सुनसान छ समय कसरी बिताउने भन्ने स्थिति आएको छ”, उहाँले भन्नुभयो, “यही अवस्था रहेमा पसल नै बन्द गर्ने स्थिति नआउला भन्न सकिन्न ।”

नारायणगढको शहीदचोकमा विगत २३ वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका नीरजकुमार श्रेष्ठ नारायणगढ हुँदै जाने पूर्व–पश्चिम राजमार्ग मर्मतको काम भइरहकाले पनि सेवाग्राहीलाई समस्या भएको बताउनुहुन्छ । सडक विस्तारसँगै सवारी पार्किङको अभाव हुँदा नारायणगढ बजारमा सेवाग्राही आउँनै छाडेको उहाँले बताउनुभयो । “आर्थिक मन्दिको असर त छँदैछ मलमासले पनि यस समयमा व्यापार हुनसकेको छैन”, श्रेष्ठले भन्नुभयो, “चाडपर्व आएपछि केही सुधार हुने आश छ ।”

कपडा व्यवसायी सङ्घका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले केही व्यापारी बजारबाट गाउँउन्मुख भएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ आर्थिक विषम परिस्थितिमा व्यवसायीलाई टिकाइराख्न आफूहरु लागिपरेको बताउनुहुन्छ । चितवनमा मात्र नभएर यो समस्या देशभरकै भएको जनाउँदै यसको दीर्घकालीन समाधानका लागि उहाँले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल भइरहेको बताउनुभयो ।

बैंकको चर्को ब्याजले पनि व्यवसायीलाई मर्का परेको जनाउँदै उहाँले एकल अङ्कको ब्याज भएमा व्यवसायीलाई राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो समग्र अर्थतन्त्रको समस्या हो, राज्यले सम्बोधन गर्नुपर्छ ।” रासस