चितवनमा आत्महत्याका घट्ना बढ्दो

चितवन, २३ श्रावण । चितवनमा आत्महत्याका घट्ना बढ्दो अवस्थामा रहेको छ । एक बर्षको अवधिमा मात्रै जिल्लामा २ सय २४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, अघिल्लो आर्थिक बर्ष २०७८/०७९मा भन्दा १० जना बढिले आत्महत्या गरेका छन् ।

अघिल्लो आर्थिक बर्ष २ सय १४ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष दोब्बर बढी छन् । गत आर्थिक बर्ष २०७९/०८०मा एक सय ४६ जना पुरुषले आत्महत्या गर्दा महिलाको संख्या ६१ रहेको छ । अघिल्लो आर्थिक बर्ष पनि आत्महत्या गर्नेमा पुरुष नै बढी छन् । सो बर्ष १ सय १४ जना पुरुषले आत्महत्या गरेका थिए । महिला भने ८७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

त्यस्तै गत आर्थिक बर्ष ११ बालिका र ६ जना बालकले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । पछिल्लो समयमा आर्थिक कारण पनि पुरुषहरुले आत्महत्या गर्ने गरेको खुलेको छ ।