‘मेघौली राइनो पार्क’ निर्माणमा ढिलाइ

मेघौली, २३ श्रावण । भरतपुर महानगरपालिकाले २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा महानगरभित्रै बन्दै गरेको ‘मेघौली राइनो पार्क’ निर्माणमा ढिलाइ भएको छ । पश्चिम चितवनको पर्यटनलाई आकर्षित गरेर पर्यटकीय गतिविधि बढाउन चार वर्षमा सम्पन्न हुने गरी करिब २१ करोडको लगानीमा पार्क निर्माण कार्य अघि बढाइएको हो । तर, कामको गति सुस्त छ ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोती भूषालले पार्क निर्माणले गति लिन नसकेको बताए । उनले भने, ‘निर्माणाधीन गैँडाको मूर्तिमा टाउको नधान्ने भन्दै मूर्तिको नक्सा परिवर्तन गर्दा निर्माणको काम ढिलो हुन गएको छ । निर्माण कम्पनीको ढिलासुस्तीले पार्क निर्माणको निर्धारित निर्माण कार्य सकिएको छैन ।’ देशकै मध्य भागमा रहेको पर्यटकीय दृष्टिले मह¤वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको बेला राइनो पार्क सम्पन्न गरी सक्न सकेको खण्डमा राम्रो हुने उनले बताए ।

पर्यटकीय गन्तव्य विकासका निम्ति बागमती प्रदेश सरकारबाट विनियोजित रकममार्फत मालिका मध्यवर्ती सामुदायिक वनमा राइनो पार्क बन्दै गरेको छ । भरतपुर महानगरपालिका वडा नं–२७ र २८ मा रहेका चारवटा सामुदायिक मध्यवर्ती वनक्षेत्रलाई समेटेर तीन सय ७६ हेक्टर अर्थात् करिब पाँच सय ५० बिघा क्षेत्रफलमा पार्क निर्माण भैरहेको हो । राधाकृष्ण, मालिका, राप्ती बेतरी र सदाबहार मध्यवर्ती सामुदायिक वनक्षेत्रलाई पार्कमा समेटिएको छ । पार्क मेघौली विमानस्थलसँगै जोडिएर बन्दैछ ।

बागमती प्रदेशसभा पूर्वसदस्य कृष्ण भूर्तेलका अनुसार बागमती प्रदेश सरकारबाट मेघौली राइनो पार्कका निम्ति बहुवर्षीय योजनाअन्तर्गत गत आवमा विनियोजित ४७ लाख ७३ हजार रकमबाट पार्कको पर्खाल र गैँडाको मूर्ति बनिरहेको छ ।
पार्कको मुख्य आकर्षण गैँडाको मूर्ति हो । २० फिट चौडाइ र ४० फिट लम्बाइको ३० फिट अग्लो मूर्ति बनाइने छ । मूर्ति तयार गर्नका लागि दुई करोड ७६ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मूर्तिभित्र डिजिटल पर्यटन सूचना केन्द्र रहने छ । त्यसको माथि स्थानीय सङ्ग्रहालय पनि रहनेछ । पार्क क्षेत्रमा वन्यजन्तु उद्धार सेन्टर, अहिले भइरहेको थारु सङ्ग्रहालय रहनेछ । पर्यापर्यटनलाई नै प्राथमिकता दिएर गैँडालाई ब्रान्डिङ गर्न लागिएको पार्क जैविक विविधता अध्ययन केन्द्रको रुपमा समेत रहने उनको भनाइ छ ।

यस्तै, पार्कमा असहाय वन्यजन्तुको उद्धार केन्द्र, २५ बिघा क्षेत्रमा ताल बन्नेछ भने ५० बिघामा घाँसे मैदान बन्नेछ । बोटिङसँगै जंगल सफारी र टाइगर टावर, ब्ल्याक स्ट्रोक टावर, ह्वाइट स्ट्रोक टावर, क्रोकोडायल टावरहरु पनि निर्माण हुने पूर्वसांसद् भूर्तेलले बताए । यो पार्क बनेसँगै मेघौलीमा पर्यटकीय आकर्षण बढ्ने र विश्वविख्यात टाइगर टप्स बन्द भएपछिको अभाव केही हदसम्म भए पनि मेटिने उनको भनाइ छ ।

भरतपुर महानगरले विनियोजन गरेको १० लाखबाट पार्कमा शौचालय बनेको छ भने महानगरबाटै थप १० लाख रकम विनियोजन भएको र सो रकमले पार्कको गेट बनेको छ ।

पार्कमा ३० देखि ४० बिघा क्षेत्रमा पोखरी बनाइने छ । पोखरीको वरिपरि पर्यटकलाई हिँड्न मिल्ने गरी ‘क्यानोपिक वाक’ निर्माण गरिनेछ । जसमा पोखरीको वरिपरि १५ फिट अग्लो दूरीमा हिँड्न मिल्ने गरी फलामको एक किलोमिटर लामो पुलका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो, मेघौली । नेपालमा नै सर्वप्रथम जंगल सफारीको सुरूआत गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य बनेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष मायाराम महतो बताउँछन् ।

जंगल सफारी, डुङ्गा सफारी, होमस्टेको बसोवाससँगै नारायणी र राप्तीको संगमस्थल गोलाघाटबाट देखिने सूर्यास्तका लागिसमेत मेघौली परिचित छ । गैँडा, बाघलगायत वन्यजन्तु र चराचुरूङ्गीको सजिलै अवलोकन गर्न सकिने स्थानमा पनि मेघौली क्षेत्र पर्दछ । चरा अध्ययन, अवलोकनकर्ता खरायो, मयूर हेर्नका लागि पनि मेघौलीलाई उपयुक्त गन्तव्य मान्छन् ।  चितवन पाेस्ट/रामशरण गैरे