आमसञ्चार नीति छिट्टै ल्याउँछौँ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ, २३ श्रावण । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उहाँले नेपालमा मात्र नभइ संसारभर नै सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।  “लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भन्नुभयो । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पु¥याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।

सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा  रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । “आजको दिनमा मुलुकको अर्थतन्त्रलगायतमा आएको समस्याले गर्दा रेडियोलगायत सञ्चारमाध्यमको समस्या रहेको छ”, उहाँले भन्नुभयो, “समयमै नवीकरण र नवीकरण सहज बनाउन लाग्नुपर्ने अवस्था छ । नवीकरण शुल्क र जरिमाना शुल्क यो पटकलाई मिनाह गर्नका लागि अर्थमन्त्रालयमा पठाएका छौँ, अर्को वर्षदेखि यसलाई नीतिगत रुपमै व्यवस्था गरिनेछ ।”

सम्मेलनका दौरानमा दक्षिण एशियाली मुलुकका असल अभ्यास र नीतिको एकअर्काबीच आदानप्रदान गर्नसके सम्मेलन फलदायी हुने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । रेडियो विगतदेखिनै जनतालाई सूचनाको भरपर्दो साधनको रुपमा विकास भइरहेको तथा कुना कन्दरामा पत्रपत्रिका र इन्टरनेट नपुगेको स्थानमा रेडियोनै सूचनाको मुख्य माध्यम बनेको उहाँले उल्लेख गर्नुभयो । सम्मेलनले आपसी सद्भाव अभिवृद्धिमासमेत भूमिका खेल्ने बताउदै उहाँले यसले दक्षिण एशियाका सरकारदेखि जनतालाई जोड्ने काम गर्नुका साथै अन्तरदेशीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने मन्त्री शर्माले बताउनुभयो । सम्मेलनले दक्षिण एशियाको नीति सुधार्नुपर्ने विषयलाई आदानप्रदान गर्न सहज हुने उहाँको भनाइ थियो ।

विश्व सामुदायिक रेडियो प्रसारक सङ्घको एशिया प्रसान्त क्षेत्रीय अध्यक्ष रामनाथ भाटले सामुदायिक रेडियो प्रसारकको एकअर्काबीच ज्ञान आदानप्रदानका साथै आगामी रणनीतिक साझेदारिताबारे सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले दक्षिण एशियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान नीतिगत सुधार र आगामी रणनीति तय गर्न उपयोगी हुने आयोजकको विश्वास छ । रासस

ताजा समाचार

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

चितवनमा रगत पाउनै मुस्किल

चितवनमा रगत पाउनै मुस्किल