दुर्गम तेम्बाथान गाउँ सडक सञ्जालमा जोडियो

चौतारा, २३ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बा थान गाउँ सडक सञ्जालसँग जोडिएको छ । सदरमुकाम चौताराबाट ६० किलोमिटर दूरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन ।

सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरेर राजधानीका अस्पताल पु¥याउँदै आइरहेका थिए । जुगल–३ मा निमार्णधीन ३६ मेगावाट लक्ष्य बोकेको ब्रह्मायाणी जलविद्युत् आयोजनाले रु सात करोड खर्चेर आठ किलोमिटर मान्जेखोला–नेशमदोभान–तेम्बाथानदिपु सडक निमार्ण गरेको वडाध्यक्ष लक्ष्मण दोङले जानकारी दिनुभयो ।

उक्त गाउँभन्दा तीन सय मिटर दूरीमा आयोजनाको विद्युत् गृह, सुरुङलगायतका संरचना बन्दैछ । गाउँमै एम्बुलेन्स र सवारीसाधान आइपुग्ने भएपछि तेम्बाथानवासी खुसी भएका छन् ।

यसअघि जलविरे, कात्तिके–तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो । त्यसउता लक्याप, निमाडोमा, नेशम खोला जस्ता डरलाग्दा भीरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दे अघि बढ्नुपर्ने भएकाले यर्मालिङ र नेशम खोलापारी सडक छिचोल्न सकिएको थिएन ।

स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भीरको तल्लो भाग ‘ब्लास्ट’ गर्दै फुटालेर तेम्बाथानसम्म सडक पु¥याउन डेढ वर्ष लागेको ब्रह्मायाणी जलविद्युत् आयोजनाका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

तेम्बाथान, दिपु, तेगा गाउँपुग्ने यो नै पहिलो र नयाँ सडक ट्र्याक हो । उक्त ट्र्याकलाई मर्मत सम्भार, कटिङ, ग्राभेलिङ, तीनवटा पुल बनाई स्तरोन्नति गर्दै अघि बढेको उहाँले बताउनुभयो ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो सडक निमार्ण भएपछि स्थानीयवासीले दुई दिनभर ज्यान हत्केलामा राखेर भीर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको बताउनुभयो ।