रास्वपाको ‘र्‍याट’ले बोकेको वाकीटकीमाथि छानविन गर्न सिडिओको निर्देशन

भरतपुर, २४ श्रावण । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाई सडक सुचारु गर्न कुनै अमुक दल वा संगठनको सहयोग नलिईएको बताउनु भएको छ । सिडिओ पौडेलले आज एक सूचना जारी गरी अमुक दल वा संगठनको सहयोग लिन सुरक्षा निकायलाई स्वीकृति समेत नदिइएको बताउनु भएको छ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाई यातायात व्यवस्थापनका लागि रास्वापाले हिजो र्‍यापिड एक्सन टिम  (र्‍याट) परिचालन गरेको थियो । उक्त टिमका सदस्यले सञ्चारको साधन वाकीटकी प्रयोग गरेको देखिएकाले उक्त सञ्चार साधनको स्वीकृति र दर्तावाल हो वा होइन भनेर छनविन गर्न निर्देशन दिइएको पौडेलले बताउनु भयो ।

‘उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपदका यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौ’, सूचनामा भनिएको छ ।

ठुला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सकिने पौडेलले बताउनु भएको छ। चितवन पोष्ट