आँखा पाक्ने रोगको प्रकोप, दस गुणा बढ्यो औषधिको माग

भरतपुर, २५ श्रावण । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि औषधिको माग बढेको औषधि बिक्रेताहरुले बताएका छन् । अहिलेसम्म सप्लायर्सहरुले आपूर्ति गरिरहेकोले बजारमा समस्या नभएको उनीहरुको भनाइ छ । औषधिहरु केही भारतबाट आउँछन् भने केही नेपालमै पनि बन्छन् ।

तर, सप्लायर्सहरुले भने स्टकमा औषधि नभएको बताएका छन् । ‘२÷४ दिनपछि औषधि आउँछ, हामीसँग भएको बजारमा पठाइसकेका छौँ, अहिले स्टकमा छैन’, सेन्चुर सप्लायर्सका प्रतिनिधि रोशन श्रीवास्तवले भने । ‘पार्टीले मागेका छन्, तर दिनका लागि स्टक छैन’, उनले भने, ‘सामान्य अवस्थाको भन्दा दस गुणा बढी औषधिको माग भएकाले पु¥याउन नसकिएको हो ।’

देशैभरिबाट अर्डर आएको र हाल पूर्वी नेपालमा बढी औषधि दिनु परेको उनले बताए । ‘हामीले पनि अर्डर गरिसकेका छौँ, अर्को हप्ताको सुरूमै बजारमा थप औषधि पुग्छ । यसअघि सय भाइल अर्डर गर्नेले अहिले हजार भाइल मगाउन थालेका छन्, त्यसैले सप्लाईमा समस्या भएको छ’, उनले भने । बजारको मागको अनुपात हेरेर तत्कालका लागि औषधि कम्पनीसँग बढी माग गरेको सप्लायर्सहरु बताउँछन् ।

अहिले देखिएको आँखाको समस्यामा प्रयोग हुने एन्टिबायोटिक अभाव रहेको सप्लायर्सले बताएका छन् । मागअनुसारको औषधि आउँदा बजारमा हाल भएको औषधिले धानेमा कुनै अभाव नहुने सप्लायर्सहरु बताउँछन् ।

सामान्य अवस्थामा प्रयोग हुने सिप्रोफ्लोस्यासिन र ओफ्लोस्यासिन ड्रप बजारमा सहजै उपलब्ध रहेको औषधि व्यवसायीहरु बताउँछन् । यसबाहेक हाल देखिएको सङ्क्रमणका लागि चिकित्सकले सिफारिस गर्ने एन्टिबायोटिकहरु भने अभाव भएको पाइएको छ ।

औषधिको नियमित बजारभन्दा बढी माग भएकाले आयातकर्ताले पु¥याउन नसकेको शिव फर्मास्युटिकल्सका बजार प्रतिनिधि प्रदीपजंग राणाले बताए ।

औषधि थोक व्यवसायी संगठन चितवनका महासचिव विज्ञान पौडेलले माग र पूर्तिको सम्बन्धमा केही तलमाथि भए पनि बजारमा हाहाकार नै हुने गरी कुनै असन्तुलन नआइसकेको प्रतिक्रिया दिए । ‘हामीले पसल–पसलमा आवश्यकताअनुसार दिएका छौँ, तर माथिका सप्लायर्सले स्टक नभएको र थप औषधि आउन केही दिन लाग्ने बताएकाले कुरिरहेका छौँ । अब औषधि अभावको समस्या नहोला’, महासचिव पौडेलले भने ।

नेपाल औषधि व्यवसायी संघ चितवनका महासचिव तारानाथ अधिकारीले पसलहरुबाट सामान्य अवस्थाको भन्दा बढी माग आएको बताए । माग बढेर आए पनि अहिलेलाई आपूर्तिमा कुनै समस्या नभएको उल्लेख गर्दै उनले सप्लाई चेनमा समस्या नभएमा महामारीको समयमा सहज औषधि व्यवस्थापनका लागि कुनै समस्या नहुने बताए ।

आँखा जाँचका लागि सबैभन्दा बढी बिरामी पुग्ने भरतपुर आँखा अस्पतालले भने औषधि बिक्रीवितरणमा कुनै समस्या नभएको बताएको छ । एडिनो भाइरसको सङ्क्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । यस रोगको प्रकोपले बालबालिकाहरु बढी प्रभावित भएका छन् । चिकित्सकहरुले सम्बन्धित चिकित्सकसँग जाँच गरेर मात्र आँखाको औषधि प्रयोग गर्न सुझाव दिएका छन् ।

‘रोग लागे आत्तिनु पदैन’

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनुनपर्ने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए ।

हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । “यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ”, डा अधिकारीले भने । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ÷सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रूमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।

डा अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी भोएर मात्रै प्रयोग गर्नुपर्दछ ।

लक्षणहरु

आँखा पाक्ने रोगका प्रमुख लक्षणहरुमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने÷दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन् । दिपेन्द्र अधिकारी/चितवन पोष्ट