मौसमजन्य रोगको जानकारी दैनिक पठाउन आग्रह

चितवन, २६ श्रावण । मौसम परिवर्तनसँगै जिल्लामा बढ्दै गएको डेङ्गु, आँखा पाक्ने रोगलगाएतको अवस्था र तथ्याङ्कलाई छिटोछरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई गराउन आग्रह गरिएको छ । कार्यालयले आज यहाँ जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई बोलाएर सङ्क्रमण बढ्दो अवस्था कार्यालयलाई छिटोछरितोरुपमा सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।

जिल्लामा बिहीबार मात्र डेङ्गुका कारण एक जनाको मृत्यु भएको छ । डेङ्गु सङ्क्रमण भएकाको सङ्ख्या ५३ पुगेको छ । आँखा पाक्ने समस्याका कारण जिल्लाका शिक्षण संस्था बन्द रहेका छन् ।

कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफलाइटिस, कोभिडजस्ता रोग फैलनसक्ने समयमा नियमित सूचना दिन आग्रह गर्नुभयो । नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विष्लेषण गर्न सहज हुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुने गर्छ ।” रोगको नियन्त्रणसँगै रोकथामका लागिसमेत नियमित रिपोर्टिङ आवश्यक रहेको उहाँको भनाइ थियो ।

अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउनसके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुनसक्ने समस्या समाधानमा सरकारको ध्यान पु¥याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताउनुभयो ।

अहिले हप्ता/पन्ध्र दिनमा तथ्याङ्क र जानकारी पठाउने गरेकामा अब दैनिकरुपमा पठाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।” अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालालाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उहाँले आग्रह गर्नुभयो ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले गरेको रिपोर्टिङलाई नियमितरुपमा व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । आगामी भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको जनाउँदै उहाँले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताउनुभयो ।

जिल्लामा हाल उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । पाँच सय ३२ जनाको परीघक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको केसीले जानकारी दिनुभयो । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । रासस