शंकर कँडेल आत्महत्या प्रकरण आदेश : चित्त नबुझेपछि उच्च अदालत गए रूङ्टा

भरतपुर,२९ श्रवाण । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा मुख्य आरोपित भनिएका प्रदीपकुमार रूङ्टा हाल चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । केही दिनअघि भरतपुर अस्पतालबाट डिस्चार्ज भएका उनी सोही दिन वेलुकी पुनः निजी खर्चमा उपचार गराउने भन्दै चितवन मेडिकल कलेजमा रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ । उनमा केही स्वास्थ्य समस्या रहेको चिकित्सकहरुले बताएका छन् ।

साउन १८ गते न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रूङ्टालाई पुपक्षका लागि थुनामा राख्ने भनिएको थियो । तर, आदेश आएलगत्तै अदालत परिसरमा ढलेका उनलाई तत्कालै भरतपुर अस्पताल लगिएको थियो ।

न्यायाधीश अर्यालको आदेश चित्त नबुझेको भनी उच्च अदालत हेटौँडामा साउन २१ गते नै रूङ्टा पक्ष गएको थियो । २२ गतेको उच्च अदालतको आदेशले जिल्ला अदालतबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकएको थियो । आगामी बिहीबार उच्च अदालतमा पेशी चढ्ने भएको छ ।

रूङ्टासँगै अर्का आरोपित जीवन रावललाई पनि कँडेलको परिवारले किटानी जाहेरी दिएका थिए । रावल जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएकोमा गत असार २८ गते उच्च अदालत हेटौँडाको आदेशले ५ लाख ५० हजार रूपैयाँ धरौटीमा छुटेका छन् । उनी तारेखमा छन् । घटनाको केही दिनमा रावल सिमराबाट पक्राउ परेका थिए ।

रावल धरौटीमा छुटेपछि आफू पनि छुट्ने आशामा रूङ्टा अदालत हाजिर भएका थिए । तर, अदालतले थुनामा पठाउने आदेश गरेपछि अदालतबाट आदेश भएको २ दिनमै रूङ्टा पक्ष उच्च अदालत गएको हो । घटनाको ३ महिनापछि साउन १८ गते रूङ्टा आफैँ निवेदनका साथ मुद्दामा हाजिर हुन अदालत आएका थिए ।

अनमोल फिड्स रूङ्टाले अर्का व्यवसायी शंकर कँडेलसँग किनेका थिए । यही किनबेचको कारोबारमा आफूलाई अप्ठेरो पारेको भन्दै वैशाख १९ गते आफ्नै कार्यकक्ष ९अनमोल फिड्स०मा कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा रूङ्टा नै कारण रहेको उल्लेख गरेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । तर, रूङ्टा फरार थिए ।

रूङ्टाले कम्पनीको हिसाबकिताबमा कहीँकतै तलमाथि नगरिएको बताएका छन् । कानुनबमोजिम नै सबै कारोबार र शेयर बाँडफाँट तथा किनबेच भएको उनले बयानमा बताएका छन् । आरोपित दुवैजनाविरूद्ध ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ । कँडेलले लेखेको सुसाइड नोटमा आफूले मृत्यु रोज्नुको मुख्य कारक व्यक्ति रूङ्टा नै रहेको उल्लेख गरेपछि कँडेलका भाइ राजनले दुई जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । आत्महत्या दुरूत्साहनअन्तर्गत जाहेरी लिई प्रहरीले मुद्दा अनुसन्धान थालेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ बमोजिम अभियोग लगाइएको छ । यस दफाको उपदफा २ मा सजायको व्यवस्था छ । आत्महत्या दुरूत्साहन कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । रूङ्टाको आर्थिक कारोबार सबै रोकिएको छ । चितवन पोष्ट